बिहीबार, वैशाख १३, २०८१

झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितामा सुमन र हुमी च्याम्पियन

नेपालखोज २०७७ माघ १० गते २२:३२

नुवाकोट । पाँचौ झिल्टुङ्ग क्रस कन्ट्री च्याम्पियनसिपमा सुमन राई र हुमी बुढा मगर प्रथम भएका छन् । नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा भएको दौड प्रतियोगितामा पुरुषतर्फ सुमन राई र महिलातर्फ हुमी बुढा मगर प्रथम भएका हुन् ।

शनिबार भएको उक्त दौड प्रतियोगितामा पुरुषतर्फ प्रथम भएका राईले राष्ट्रिय कीर्तिमान समेत बनाए । उनले ५४ मिनेट ५५ सेकेन्ड ०९ मा १३.४ किलोमिटरको दुरी पार गर्दै कीर्तिमान बनाएका हुन् ।

उनले नेपालमा भएको १३ औं संस्करणको दक्षिण एसियायी खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटीको ५६ मिनेटको कीर्तिमान भंग गरेका छन् ।

यस्तै, दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८ दशमलब ५० सेकेन्डमा दुरी पुरा गरे । भने तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २० दशमलब ०४ सेकेन्डमा निर्धारित दुरी पुरा गरेका थिए ।

महिलातर्फ प्रथम भएकी बुढामगरले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पूरा गरिन् । भने दोस्रो भएकी बन्दना राईले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा , र तेस्रो भएकी एपीएफकी आशा राउतले १ घण्टा २० मिनेट २५ सेकेन्डमा उक्त निर्धारित दुरी पूरा गरेकी थिइन् ।

महिला र पुरुषतर्फका विजेताले क्रमशः पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार प्राप्त गरेका छन् ।

यता आमा समुहतर्फ अघिल्लो वर्षकी विजेता सन्तुमाया श्रेष्ठ प्रथम भइन् भने विमला श्रेष्ठ दोस्रो र कल्पना श्रेष्ठ तेस्रो भइन् । उनिहरुले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

स्थानिय विधाको पुरुषमा प्रज्वल लामिछाने प्रथम, नविन भण्डारी दोस्रो र दिनेश भण्डारी तेस्रो भएका थिए । भने स्थानीय यु–१६ छात्रतर्फ दिनेश नेपाल, शिशिर तामाङ, अनिस भण्डारी पहिलो दोस्रो र तेस्रो हुँदा छात्रातर्फ दिपशिखा राई प्रथम भइन् भने अस्मीता दुलाल दोस्रो र सपना श्रेष्ठ तेस्रो भएकी थिइन् ।

यस्तै ४.५ किलोमिटर खुल्लातर्फ छात्रमा विश्वराम कुँबर प्रथम भए भने उदय लिम्बु दोस्रो र प्रविण लम्लीङ्ग तेस्रो भएका थिए र सोही विधाको छात्रामा सरस्वती बोहरा पहिलो रेश्तिना सितिखु दोस्रो र अन्जु खड्का तेस्रो भएकी थिइन् ।

प्रतिक्रिया