शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंका १० अस्पतालले पाए कोरोना खोपको जिम्मेवारी

लक्ष्मी चौलागाईं २०७७ माघ ११ गते १०:५०

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न १० अस्पतालले कोरोना खोप दिने जिम्मेवारी पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल बलम्बु लगायतका उपत्यकाका विभिन्न १० अस्पतालहरूबाट कोरोना खोप दिइने छ ।

ती अस्पतालबाट दैनिक ३० हजारलाई कोरोना खोप दिइने प्रवता डा. गौतम बताउँछन् । उपत्यकाका विभिन्न १० अस्पतालबाट खोप दिइने भएपनि निजी अस्पतालबाट भने कोरोना खोप नदिइने प्रवक्ता डा. गौतमले बताए । कोरोना खोप दुई मात्रामा दिनुपर्ने भएकोले पहिलो डोज लगाएको ४ हप्ता पश्चात् मात्रै दोस्रो डाेज दिइने छ ।

भारत सरकारको अनुदानमा भारतीय सेरम कम्पनीले उत्पादन गरेको १० लाख डोज कोरोना खोप पहिलो चरणमा गत बिहीबार नेपाल आएको थियो । टेकुको खोप भण्डारण केन्द्रमा राखिएको उक्त खोपलाई आइतबाट सातै प्रदेशमा पुर्‍याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोपको प्रयोग तथा व्यवस्थापनका लागि पूर्व खोप महाशाखा प्रमुख श्याम उप्रेतीको नेतृत्वमा एक टोली गठन गरिसकेको छ । शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका भाइराेलोजिष्ट डा. शेरबहादुर पुनका अनुसार निम्नानासुरका स्वास्थ्य समस्या भएका व्यक्तिहरूले उक्त खोपको प्रयोग गर्नु हितकर हुँदैन –
१. जुनसुकै खोप लगाउँदा स्वास्थ्य समस्या आएका व्यक्तिहरूले यो खोप लगाउनुहुँदैन
२. गर्भवती महिला
३. १८ वर्ष भन्दा कम उमेरका व्यक्तिहरूले यो खोप लगाउनुहुँदैन
४. रगत पातलो भएका तथा रक्तस्रावको समस्या भएमा खोप लगाउनुहुँदैन

प्रतिक्रिया