बिहीबार, चैत १५, २०८०

जोन्सन र बाइडेनबीच सम्बन्ध बलियो बनाउनेबारे छलफल

नेपालखोज २०७७ माघ ११ गते १६:२३

एएफपी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तन समेतका जल्दाबल्दा मुद्दाहरुको सम्बोधनका लागि दुई देशबीचको सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने बारेमा सहमति भएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयका अनुसार दुई नेताबीच पहिलो पटक भएको कुराकानीमा यस्तो सहमति जुटेको हो । प्रधानमन्त्री जोन्सनले बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हालेकामा बधाई दिँदै दुबै देशबीचको प्रगाढ सम्बन्धलाई थप उचाईमा पुर्‍ याउन कुनै कसर बाँकी नराखिने बताए ।

बेलायती अखबारहरुले बाइडेनले फोन सम्पर्क गरेका युरोपका नेतामध्ये बेलायती प्रधानमन्त्री जोन्सन पहिलो युरोपेली नेता हुन् । बाइडेनले यसअघि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपतिसँग कुराकानी गरेका थिए ।

फोनवार्ताका क्रममा प्रधानमन्त्री जोन्सनले दुई देशबीचको व्यापार विषयमा उत्पन्न गतिरोध जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री जोन्सनले जलवायु सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा अमेरिकाको पुनः प्रवेशका लागि बाइडेनले लिएका निर्णय निकै सकारात्मक भन्दै प्रशंसा पनि गरेका थिए ।

प्रतिक्रिया