मंगलबार, वैशाख ११, २०८१

सान्त्वना जितसँगै बाहिरियो सुदूरपश्चिम

नेपालखोज २०७७ माघ ११ गते १६:४३

काठमाडौं । सुदूरपश्चिम प्रदेशले सान्त्वना जित निकाल्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ४ विकेटले पराजित गरेको हो ।

प्रदेश २ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।

सुदूरपश्चिमका लागि सञ्जु दमाईले ५७ रनको उत्कृष्ट पारी खेले । खडक बोहोराले ४३ र गजेन्द्र बोहोराले ३९ रन जोडे । प्रदेश २ का कुमार थापाले ३ तथा हरिशंकर शाहले २ विकेट लिए। विवेक यादव र रवि शाहले एक एक विकेट झारे ।

त्यसअघि सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको प्रदेश २ ले ४२ ओभरमा १ सय ९५ रन जोड्दा अलआउट भयो । हरि शंकर शाहले ६० रनको योगदान दिएपनि जितको हार टार्न भने सकेनन् । ७३ बलको सामना गरेका यादवले ९ चौका हाने । विवेक यादवले ४१ रनको योगदान दिए ।

सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले तिन तिन विकेट लिए । अरुण ऐरिले २ विकेट लिए ।

जितसँगै सुदूरपश्चिम ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहँदै बाहिरिएको छ । प्रदेश २ तीन खेलमा तीनमानै पराजित हुँदै एक खेल अगावै बाहिरिएको छ । अन्तिम खेलमा प्रदेश दुईले नेपाल पुलिस क्लबसँग खेल्ने छ । समूह ए बाट त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब सेमिफाइनलमा पुगि सकेका छन् । समूह बी बाट पुलिस, बागमती र लुम्बिनी मध्य दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया