शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैंकद्वारा दुई अर्ब ४५ करोडकाे संस्थागत निक्षेप लगानी आह्वान

नेपालखोज २०७७ माघ ११ गते १७:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको आह्वान गरेको छ । राष्ट्र बैंकले आज (आईतबार) वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीसमेतको नाममा सार्वजनिक सूचना जारी गर्दे रकम लगानीको आह्वान गरेको हो ।

पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा राख्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ । लगानीको अवधि २०७७ फागुन २ गतेदेखि २०७८ फागुुन २ गतेसम्म तोकिएको रकम लगानीको लागि यही माघ १४ गते अपरान्ह तीन बजेसम्म लगानीको प्रस्तावसमेत आवेदन पेस गर्नु पर्नेछ ।

राष्ट्र बैंककाअनुसार रकम लगानीको लागि छुट्याएको कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ९६ करोड, राष्ट्रियस्तरका बिकास बैंकहरुको लागि ३६ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १२ करोड २५ लाख रुपैयाँ छुट्याईएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकले माघ १२ गते अर्थात भोलि (सोमबार) बैंक तथा फाईनान्स कम्पनीहरुलाई १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल पनि जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार ९१ दिनमा परिपक्व हुने गरी उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

प्रतिक्रिया