बिहीबार, चैत १५, २०८०

रामचन्द्र पौडेल पक्षको आज छुट्टै बैठक बस्दै

नेपालखोज २०७७ माघ १२ गते १०:४१


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आज सोमबार छुट्टै बैठक बस्दैछ ।

भोलि मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्ना धारणा तय गर्न बैठक बस्न लागेको पौडेल निकट स्रोतले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटनसँगै आन्दोलनमा जाने वा निर्वाचनको पक्षमा भन्ने विवाद कांग्रेसमा देखिंदै आएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नयाँ जनमतमा जानु स्वाभाविक भएको भन्दै निर्वाचनमै जानुपर्ने दवाव दिइरहेका छन् । तर पौडेल पक्षले त्यसको विरोध गर्दै अहिले पहिला संविधानको रक्षा गर्नु कांग्रेसको मुख्य काम भएको बताउँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै पार्टीले त्यसको विरोध गर्नुपर्ने पौडेल पक्षको माग छ ।

पार्टीको अस्तित्व जोगाउनकै लागि भए पनि कांग्रेसले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्नुपर्ने अडान पौडेल पक्षले राख्दै आएको छ । बैठकमा प्रदेशका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा पार्टीको आगामी रणनीतिका बारेमा छलफल गर्न कांग्रेसले भोलि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा पनि कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पोडेलबीच फरक मत देखिएको छ । सभापति देउवा जसले कांग्रेसलाई मुख्यमन्त्री दिन्छ उसलाई सहयोग गर्नुपर्ने पक्षमा देखिएका छन् भने पौडेल अविश्वासको प्रस्तावमा उभिनु पर्ने अडानमा छन् ।

बैठकमा आफ्नो तर्फबाट उठाउने एजेण्डाका बारेमा छलफल गर्न नेता पौडेलले आज आफू निकट नेताहरुलाई बैठकमा बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेपाल कमयुनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्ष, जनता समाजवादी पार्टीलगायत नागरिक अगुवाले सडक आन्दोलन गर्दै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संसद विघटनविरुद्ध संयुक्त आन्दोलनको प्रस्ताव गरे पनि कांग्रेस सभापतिले स्वीकार गरेका छैनन् । पौडेल पक्षका नेताहरु भने अहिले सडक आन्दोलनमार्फत संविधानको रक्षामा लाग्नु पर्ने बताइरहेका छन् ।

कांग्रेसले पनि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै दुई चरणको विरोध कार्यक्रम गरे पनि कांग्रेसको आन्दोलन प्रष्ट हुन नसकेको स्वयम कांग्रेसका नेताहरु बताउँछन् । पार्टी सभापति देउवाको स्पष्ट अडान आउन नसक्दा कांग्रेस अन्योलको अवस्थामा देखिएको छ ।

प्रतिक्रिया