बिहीबार, चैत १५, २०८०

इसेवा १२ औँ वर्षमा, खाता खोल्नेको संख्या ४० लाख माथि

नेपालखोज २०७७ माघ १२ गते १५:१४

काठमाडौं । मोबाईलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडी बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्वपूर्ण माध्यम बन्न सफल भएको छ ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन् ।

१२ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘ कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्ने महत्पपूर्ण माध्यम बनाउन सफल भएका छौँ । आगामी दिनमा हामीले इसेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजानेछौँ ।’

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा पनि आम मानिसको जनजीवनमा सहजता ल्याउने खालका सेवा विस्तार गर्दै अगाडि बढ्ने कम्पनीको योजना रहेको छ ।

तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तरगत इसेवासँगै करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस गु्रपले अहिले एकहजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ ।

कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिब ६ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना, निशुल्क रूपमा अत्याधुनिक किसिमका शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ । यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजन तथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया