बिहीबार, वैशाख १३, २०८१

बढ्न थाल्यो बैंकमा कर्जाको माग, माघ महिनामा मात्रै निक्षेप १३ अर्बले घट्यो

नेपालखोज २०७७ माघ १३ गते १०:१७

काठमाडौं । महामारीकै बीचमा बढेको आर्थिक कारोबारपछि पछिल्लो समय बैैंक तथा वित्तीय संस्थाको कर्जामा समेत वृद्धि भएको देखिएको छ । कर्जा वृद्धि बढेपछि अहिले निक्षेप वृद्धि पनि खुम्चेको छ ।

दशैँ मनाउनका लागि असोजको अन्तिम सातामा धेरैले बैंकबाट रकम निकाल्दा केहि निक्षेपमा कमि आएको थियो । साथै त्यतिबेला कैयनले बचत गरेर राखेको रकम घरखर्च चलाउनका लागि समेत निकालेका थिए ।

यसपछि भने निरन्तर ५ महिनासम्म निक्षेप बढेको थियो । तर, माघको पहिलो साताको तुलनामा भने दोस्रो सातामा आएर निक्षेपमा केहि कमि आएको छ ।

निरन्तर बढ्दै गएको निक्षेप बैंकहरुका लागि टाउको दुखाइको विषय बस्तु बनेको थियो । निक्षेप स्वीकार्दिन भन्दा पनि नमिल्ने र व्याज दिँदा बैंकहरुको खर्च बढ्दै गएको थियो । उनीहरु बैंकमा निक्षेप आओस् भन्ने चाहदैनथे । जबकी गत वर्षको यहि समयमा भने बैंकहरु तरलता अभावको स्थितीमा हुन्थे ।

अब बैंकहरुको निक्षेपमा आएको कमि र कर्जामा भएको विस्तारले विस्तारै आर्थिक क्रियाकलापले लय समातेको भनेर बुझ्न सकिन्छ । किनभने बैंकबाट कर्जा जानु भनेको यसले आर्थिक क्रियाकलाप बढाएको बताउँछ ।

नेपाल बैंकर्स संघका अनुसार अहिले बैंकहरुसँग निक्षेप ३७ खर्ब ६९ अर्ब छ । जबकी माघ २ गते निक्षेप ३७ खर्ब ७९ अर्ब थियो । यसरी हेर्दा दुई सातामा निक्षेप १० अर्बले कमि आएको छ । अझ पुस मसान्तमा त बैंकहरुको यस्तो निक्षेप ३७ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो ।

यसरी हेर्दा माघमा मात्रै बैंकहरुको निक्षेप १३ अर्बले कम भएको छ । यता निक्षेपमा कमि आउँदा बैंकहरुको लगानीमा भने विस्तार भएको छ । माघको दोस्रो साता ऋण ११ अर्बले बढेको छ ।

पुस मसान्तमा ३२ खर्ब ४४ अर्ब रहेको बैंकहरुको कर्जा अहिले करिब ३ अर्बले बढेर ३२ खर्ब ४७ अर्ब पुगेको छ । अर्थात् पुस मसान्तको तुलनामा ३ अर्ब रकम बढि कर्जा प्रवाह भएको छ ।

तर, माघको पहिलो साताको तुलनामा भने यस्तो कर्जा लगानी ११ अर्बले बढेको बैंकर्स संघ बताउँछ ।

पछिल्लो समय साना तथा मझौला क्षेत्रमा कर्जा तथा लगानीको माग बढेको छ । त्यस्तै प्लाइउड उद्योगमा पनि लगानी बढेको बैंकर्स बताउँछन् ।

एक बैंकरले भने– ‘अहिले विशेषगरी कर्जा त सेयरमा नै बढेको हो, तर पनि पछिल्लो समय केहि साना उद्योग, व्यापारमा समेत ठूलो मात्रामा कर्जाको माग हुन थालेको छ, जसका कारण नै कर्जा बढेको देखिएको हो ।’

बैंकहरुमा तरलता केहि सहज भएसँगै यसले बैंकहरुको खर्चमा कमि ल्याउनेछ । घट्दो व्याज र अधिक तरलता बैंकहरुलाई मात्रै हैन राष्ट्र बैंकलाई समेत टाउको दुखाइको विषयवस्तु बन्दै आएको छ ।

जबर्जस्त रुपमा अघि बढेको आर्थिक क्रियाकलपाले राजस्व त बढाएको थियो नै अहिले त बैंकहरुको कर्जा समेत बढाएको छ । जुन सुखद त मान्न सकिन्छ । तर, अझ लगानी बढाउनका लागि ठूला उद्योगी अझै पर्ख र हेरको अवस्थामा रहेकाले बैंकहरुले साना तथा मझौला खालका उद्योगमा लगानी केन्द्रित गर्नु जरुरी छ । जसले रोजगारी वृद्धिमा समेत टेवा पुर्याउने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया