शनिबार, वैशाख १५, २०८१

वैशाखमा चुनाव कुनै हालतमा हुँदैन : माधव नेपाल

नेपालखोज २०७७ माघ १३ गते १८:३९

पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले वैशाख महिनामा चुनाव कुनै आलतमा नहुने बताएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले मङ्गलबार पाँचथरको फिदिममा आयोजना गरेको पार्टी प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली कम्युनिस्ट पार्टी चरित्रका व्यक्ति नभएको पनि आरोप लगाएका छन् ।

जालझेल र षड्यन्त्रपूर्वक तानाशाही तरिकाले प्रतिनिधि सभा विघटनको कदम चालेकाले केपी ओलीमा कम्युनिस्ट पार्टीको चरित्र नदेखिएको बताए। अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीले नीति, सामूहिक छलफल, लोकतान्त्रिक संस्कार, क्रान्तिकारी सोच मान्ने तर ओलीमा यी कुनैपनि चरित्र नभएको टिप्पणी गरे ।

उनले सूर्य चुनाव चिह्न र पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफूले पाउने पनि दाबी गरेका छन् । पार्टी प्रशिक्षण भेलालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पनि सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै शर्माले केपी ओलीले तानाशाह प्रवृत्तिबाट प्रतिनिधि सभा विघटनको कदम चालेकाले सडक सङ्घर्षबाट प्रतिनिधि सभा पुर्नस्थापना गर्ने चेतावनी दिए ।

प्रतिक्रिया