शनिबार, वैशाख २२, २०८१

आर्थिक वृद्धिमा उदाहरणीय बन्दै बंगलादेश !

दिगो विकासमा ध्यान दिएकाले बंगलादेशको आर्थिक अवस्था सुध्रिँदै गएको हो : अर्थविद् डा. नेपाल

केशव भट्टराई २०७८ भदौ १३ गते १०:५८

काठमाडौं । अन्तर्राष्ट्रिय अर्थतन्त्रका जानकार एवं अर्थविद् गोविन्द नेपाल बंगलादेश धेरैचोटि पुगेका छन् । विभिन्न कार्यक्रममा सहभागी भए । उनको निचोड एउटै छ, बंगलादेशको नेतृत्वले दिगो विकासलाई प्राथमिकता दिएकाले नै सफल भएको हो । अर्थविद् नेपालले भनेजस्तै दिगो विकासको सिद्धान्तलाई व्यवहारमा उतारेकाले नै आजभोलि साउथ एसियाको अर्थमन्त्रमध्ये बंगलादेशको अर्थतन्त्र उदीयमान छ । बंगलादेशको आश्चर्यजनक तथ्यहरूको कुरा गर्नुपर्दा उक्त देशको जीडीपी तीन सय ४७ विलियन अमेरिकी डलर पुगिसकेको छ । जबकि, प्रतिव्यक्ति आय अहिले दुई हजारभन्दा बढी छ । विश्व बैंकले समेत पछिल्लो समयमा बंगलादेशले आर्थिक अवस्था सुधार गरेको भन्दै प्रशंसा गरेको छ । बंगलादेशको जीडीपी दर लगभग ८ प्रतिशत छ ,जुन एकदमै राम्रो पक्ष हो ।

यस्तै पछिल्लो समय बंगलादेश कपडा उद्योगको क्षेत्रमा चीनपछिको विश्वमै दोस्रो देश बनेको छ । यस्तै यहाँ उत्पादित कपडा गुणस्तरीय मानिएकाले नेपाल, भारतलगायत विभिन्न देशका ग्राहक तथा व्यापारीको रोजाइमा पर्ने गरेको छ । कपडाको उत्पादनको साथै निर्यातमा पनि बंगलादेश चीनपछिको दोस्रो देश बनेको छ । कपडा उद्योगको विस्तार भएपछि यहाँ लाखौं महिला-पुरुषले रोजगार पनि प्राप्त गरेका छन् । यता छिमेकी देश भारत कपडा उत्पादन तथा निर्यातको दृष्टिकोणले विश्वमा चौथो राष्ट्रका रुपमा मानिन्छ ।

यता नेपालमा पनि धेरै वर्षदेखि गार्मेन्ट उद्योगहरू सञ्चालन भइरहेका छन्, तर उत्पादन तथा बजार सन्तोषजनक छैन । अर्थविद् डा. पोखरेल गार्मेन्ट उद्योगबाट आर्थिक अवस्था सुधार गर्ने योजना बंगलादेशले दिगो किसिमले कार्यान्वयन गरेकाले नै विश्व बजारसम्म पहुँच राख्न सफल भएको हो भन्छन् ।

No description available.

यसैगरी बंगलादेशले चिकित्सा क्षेत्रमा राम्रो दखल बनाउँदै गएको छ । नेपालका विद्यार्थी पनि चिकित्सा विषय पढ्न यहाँ जाने गरेका छन् । यो मुलुकभित्रका ढाका मेडिकल कलेज, बसुन्धुरा हस्पिटल, बंगलादेश आई हस्पिटल, बीएसएमएम यू हस्पिटल, बिरदेम हस्पिटल, पपुलर हस्पिटल, आइबीएन सिन्हालगायत मेडिकल कलेज तथा अस्पताल विश्वमै प्रसिद्ध छन् ।

बंगलादेशमा नेपाललगायत विभिन्न देशबाट चिकित्सा विषय पढ्न जानुको कारण सस्तो शिक्षा भएको नेपालका चिकित्साविद्हरू बताउँछन् । नेपालमा सस्तो शिक्षा भएको भए बंगलादेशसम्म पढ्न जानुपर्ने अवस्था आउँदैनथ्यो भन्छन् अर्थविद् डा. नेपाल पनि । बंगलादेश सरकारले चिकित्सा क्षेत्रको विकास गरेर आर्थिक विकास गर्ने विशेष योजना ल्याएको छ ।

यस्तै बंगलादेश कृषिप्रधान र त्यसमा पनि विश्वमै चौथो बढी धान उत्पादन गर्ने राष्ट्रका रुपमा चिनिन्छ । धेरै नदी, खोला, तथा समुद्रको पहुँच भएकाले यहाँको मुख्य तरकारी माछा हो । भात र माछाको तरकारी बंगलादेशको खानाको पहिचान हो । यस्तै विश्वमा चिया उत्पान गर्ने उदाहरणीय मुलुकका रुपमा पनि लिइन्छ यस देशलाई । करिब चार लाख मानिसले चियाखेतीबाट प्रत्यक्ष रोजगार लिइरहेका छन् । बंगलादेश र नेपालको कृषि प्रणाली उस्तै छ । तर बंगलादेश अहिले कृषिको वृद्धिदर सात प्रतिशत बनाउन सफल भएको छ । कृषिमा आधारित उद्योगको पनि विस्तार गर्ने नीतिलाई सफल कार्यान्वयन गर्दै छ । उक्त देशले कृषकलाई उत्साहित गर्न बजारसम्मको पहुँच, आधुनिक कृषि उत्पादन र कृषि पूर्वाधारको विकासमा जोड दिइरहेको छ ।

फलस्वरुप आफ्नो देशमा खान पुर्‍याएर विश्वमा चामल निर्यात गर्न सफल भएको छ । फलफूल खेतीको विस्तार गर्दै आफ्नो देशको जुस बाह्य देशमा निर्यात गर्न सफल भएको छ । तर कृषि क्षेत्रको विकास र कृषिमा आधारित उत्पादन बाह्य देशसम्म पुर्‍याउन नेपाल असफल झैं देखिएको छ ।

No description available.

बंगलादेश क्रमशः विकासमा लम्किँदै गएको देश हो । बंगलादेशको राजनीतिमा समय-समयमा विभिन्न आरोह-अवरोह हुने गरेको छ । राजनीतिक दलहरूले बेलाबेला हड्ताल पनि गरिरहन्छन् । तर यहाँको नेतृत्वले अर्थ व्यवस्थामा असर नगर्ने गरी राजनीतिक क्रियाकलाप अघि बढाएको आफ्नो अनुभव भएको बताउँछन् अर्थविद् डा. नेपाल । यहाँ बिस्तारै उद्योगधन्दाको विकास हुँदै गए पनि अधिकांश मानिस कृषिमा निर्भर छन् । जनसंख्या वृद्धिसँगै जमिनको भाग कम पर्न गएकाले अधिकांश ग्रामीण भेकका मानिस भने गरिबीको रेखामुनि छन् ।

यता बंगलादेश क्रिकेटको लागि पनि प्रसिद्ध छ । विश्व प्रसिद्ध खेलाडी रहेको बंगलादेश विश्वकप क्रिकेटमा राम्रो छवि बनाएको देश पनि हो । यहाँ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने ठूला-ठूला क्रिकेट स्टेडियम छन् । राष्ट्रिय खेल कबड्डी भए पनि सबैभन्दा बढी क्रिकेट खेल सञ्चालन हुने गरेको छ । फुटबल र स्विमिङका लागि पनि बंगलादेश प्रसिद्ध छ ।

यस्तै बंगलादेशको समुद्री किनारमा एक सय १८ किलोमिटर फैलिएको सामुद्रिक बजार छ । यो विश्वमै दोस्रो ठूलो मानिन्छ । देश-विदेशका मानिसहरू यहाँ गर्मीको बेला पौडी खेल्न जाने गर्छन् भने अरू समयमा रमाइलो गर्न र घुमफिर गर्न जाने गर्छन् । यस्तै नदी धेरै भएको देशका रुपमा पनि लिइन्छ बंगलादेशलाई । यहाँ सात सयको हाराहारीमा नदी तथा ठूला खोला छन् । एसियाका तीनवटा ठूला नदी यही देश भएर समुद्रमा मिसिने गर्छन् ।

अर्को पक्ष यस देशमा विश्वमै सबैभन्दा राम्रो वन क्षेत्र रहेको छ । नीला, ठूला नदी वरिपरि वृक्षरोपण गरेर चिटिक्क मिलाइझैं रुखका लहरहरू देख्न सकिन्छ । मानौं अर्बौं खर्च गरेर बनाइएको मानव निर्मित वन हो । ठूलो क्षेत्रफलमा फैलिएको यस जंगललाई युनेस्कोले वर्ल्ड हेरिटेज साइट घोषणा गरेको छ ।

अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको बंगलादेशको कृषि व्यवसाय आधुनिक कृषि प्रणालीमा रुपान्तरण हुँदै छ । विश्वमै चौथो बढी धान उत्पादन गर्ने मुलुकका रुपमा चिनिने यस राष्ट्रको चामल धेरै देशका भान्सामा भित्रिने गरेको छ । धान तथा तरकारी उत्पादन बंगलादेशका जनताको गतिलो आम्दानीको स्रोत हो । बंगलादेशको तरकारी तथा दालसमेत विश्वका विभिन्न देशमा निर्यात गर्ने गरिएको छ । यता कृषि प्रधान भनिएको नेपालमा भने विदेशबाट दाल, चामल आयात गर्नुपर्ने अवस्था छ ।

अर्थविद् डा. नेपाल बंगलादेशसँग जे छ हामीसँग पनि रहेको बताउँछन् । उक्त देशले बर्सेनि कृषिसम्बन्धी जस्ता योजना ल्याए पनि कार्यान्वयनमा ल्याइहाल्ने गर्छ । नेपालमा अहिले कृषिसम्बन्धी विशेष रणनीति, प्रधानमन्त्री कृषि कार्यक्रमलगायत योजनाहरू छन् । तर ती नाम मात्रैका भएको र सरकार परिवर्तन भएसँगै हराएर जाने प्रवृत्ति छ । बंगलादेशमा जुनै सरकारले कृषिसम्बन्धी वा अन्य कुनै योजना ल्याए पनि दिगो रुपमा निरन्तरता दिने प्रवृत्तिले कृषि क्षेत्र सन्तोषजनक भएको अन्तर्राष्ट्रिय अर्थतन्त्रका जानकार डा. नेपाल बताउँछन् ।

बंगलादेशमा एकपछि अर्को विश्व चर्चित तथ्यहरू छन् । राजधानी ढाकामा विश्वकै दोस्रो बढी मस्जिदको संख्या छन् । बढी मस्जिद भएकाले यस सहरलाई सिटी अफ मस्जिद पनि भन्ने गरिन्छ । मुसलमान समुदायको शान्तिपूर्ण रुपमा जम्मा हुने विश्वमै ठूलो पवित्रस्थल यही देशमा छ । बर्सेनि हुने धार्मिक मेलामा लगभग ५० लाख मुस्लिम धर्मावलम्बीहरू सहभागी हुने गर्छन् ।

No description available.

९८ प्रतिशत बंगाली समुदायका मानिस यो देशमा बस्ने गर्छन् भने दुई प्रतिशत मात्रै अल्पसंख्यकहरू बसोबास गर्छन् । यस देशको ९० प्रतिशत जनसंख्या मुस्लिम समुदायको छ भने लगभग नौ प्रतिशत हिन्दु छन् । बाँकी इसाई र बुद्ध धर्म मान्नेहरू पनि यो देशमा छन् । बंगला अथवा बंगालीलाई यस देशको राष्ट्र भाषाका रुपमा लिइन्छ । लगभग ५० वटा भाषा बोलिने बंगलादेश संस्कृतिका लागि पनि धनी छ । गाउँमा बसोबास गर्ने ८५ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । यहाँको लगभग ६७ प्रतिशत भूभाग कृषियोग्य छ । नागरिकहरू कुनै पनि काम सानो-ठूलो नभनी जस्तोसुकै सानो काम गर्न पछि पर्दैनन् । गाउँमा बस्ने अधिकांशको जीविकोपार्जनको माध्यम खेती किसानी हो ।

सार्क राष्ट्रको एक सदस्य मुलुक बंगलादेश पहिले इस्ट पाकिस्तानको नामबाट चिनिन्थ्यो । सन् १९७१ मा पाकिस्तानबाट अलग भई एक स्वतन्त्र देश बन्यो । २६ मार्चलाई बंगलादेशीले प्रजातन्त्र दिवसका रुपमा मनाउने गर्छन् भने १६ डिसेम्बरलाई विजयी दिनका रुपमा मनाउने गर्छन् । बंगलादेशको उत्तर, पूर्व र पश्चिम सीमा भारतसँग जोडिएको छ भने दक्षिणपूर्व सीमा म्यानमारसँग जोडिएको छ । दक्षिणतर्फ बंगालको खाडी छ । बंगालको खाडीलाई संसारको सबभन्दा ठूलो खाडीका रुपमा लिने गरिन्छ ।

क्षेत्रफलका आधारमा बंगलादेश विश्वमा ९२औं ठूलो देशमा गनिन्छ । १७ करोड जनसंख्या भएको बंगलादेश संसारमा जनसंख्याको दृष्टिकोणले आठौं नम्बरमा पर्छ । यो देश जनसंख्याको दृष्टिकोणले एसियामा पाँचौं नम्बरमा पर्दछ भने मुस्लिम समुदायको जनसंख्याको दृष्टिकोणले विश्वका मुस्लिम देशहरूमध्ये तेस्रो ठूलो मानिन्छ ।

आर्थिक अवस्था सुधार गर्दै गएको यो देशमा गरिबीकै कारण केही अभिभावकले आफ्ना छोरीचेलीलाई सानो उमेरमै बेच्ने गरेका उदाहरणहरू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गरिबीकै कारण केही मानिसले सानै उमेरमा छोरीको विवाह पनि गरिदिने गरेका छन् । आश्चर्यको कुरो के छ भने बंगलादेशमा आजभोलि पनि १० प्रतिशत छोरीको विवाह १० देखि १२ वर्षकै उमेरमा हुने गरेको छ । यो मुलुकमा परिवार नियोजन गर्नुपर्छ भन्ने सोचको विकास नभएकाले जनसंख्या भने बढ्दै छ । भनिन्छ बंगलादेशको गरिबीको कारण अनियन्त्रित जनसंख्या वृद्धि हो । यही दरमा जनसंख्या बढ्दै जाने हो भने बंगलादेशमा खेतीपाती त परको कुरा, सानो झुपडी बनाएर बस्ने पनि ठाउँ हुँदैन ।

वर्षामा बाढीको यो देशको प्रमुख समस्या हो । प्रत्येक वर्ष नदी तथा खोलाको डुबान तथा कटानका कारण लाखौं मानिस प्रभावित हुने गर्छन् । बंगलादेशले एकातिर विश्वमै विकासको दृष्टिले नमुना हुँदै गएको छ भने अर्कातिर दु:ख, संघर्ष र गरिबीसँग पनि संघर्ष गरिरहनुपरेको छ ।

विकासको काम गर्न बंगलादेश सरकारसँग विभिन्न चुनौतीहरू छन् । तर एकपछि अर्को गर्दै आर्थिक अवस्था सुधार गर्दै लगेको छ । अर्थविद् डा. नेपाल समान हैसियत झैं भएका बंगलादेश र नेपालको तुलना गर्दा बंगलादेशले विकासको काममा निकै फड्को मार्दै गएको छ । अझै गरिबीको देश भनेर चिनिएको बंगलादेशबाट नेपालले धेरै कुरा सिक्नुपर्ने परराष्ट्रविद्हरू पनि बताउँछन् । नेपालको आर्थिक अवस्था सुधार गर्ने हो भने बनाएका योजनाहरूको शतप्रतिशत कार्यान्वयन गर्नुपर्छ । यस्तै बर्सेनि आर्थिक वृद्धि हुने गरी ल्याइएका योजना कार्यान्वयन गर्न नेतृत्व तयार हुनुपर्छ । बंगलादेशका नेताहरू विभिन्न देशको राजनीतिक भ्रमण गर्दा आर्थिक स्तर सुधार्ने ज्ञान लिएर आउँछन् र व्यवहारमा उतार्न तत्पर भइहाल्छन् ।

अर्थविद् डा. नेपालले भनेजस्तै आर्थिक अवस्था सुधार गर्न बनाइएका योजनाका खाका जुनसुकै सरकार आए पनि दिगो विकासको सिद्धान्तअनुसार कार्यान्वयनमा ल्याउने हिम्मत गर्नुपर्छ । नेपालमा देखावटी योजना ल्याउने परिपाटी छ । त्यो देशलाई अधोगतितिर लैजाने उपाय हो । बंगलादेशले जस्तै दिगो विकासको आर्थिक नीति कार्यान्वयन गर्ने हो भने नेपालको पनि केही वर्षभित्रैमा आर्थिक विकासले फड्को नमार्ला भन्न सकिन्न ।

No description available.
तस्बिरहरु : गुगलबाट लिइएका हुन् ।

प्रतिक्रिया