‘प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा कति दिनसम्म लम्ब्याउने ?’

नेपालखोज २०७७ माघ १४ गते १४:३७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा कति दिनसम्म लम्ब्याउने भन्दै निवेदकलाई न्यायाधीश सपना मल्ल प्रधानले प्रश्न गरेकी छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलामा बुधबार भएको सुनुवाइमा ठूलो संख्यामा कानुन व्यवसायी राखिएको र उनीहरू सबै बहसमा सहभागी हुँदा मुद्दा लम्बिएको भन्दै न्यायाधीश मल्लले प्रश्न गरेकी हुन् ।

’यो मुद्दालाई कति दिनसम्म लैजाने विचार हो ? एउटा मुद्दामा ३ सय कानुन व्यवसायी राख्नुभएको छ । सबैले बहस गर्दा कति समय लाग्ने हो ?,’ उनले भनिन्–‘बहिरबाट अदालतले मुद्दा लम्ब्यायो भन्ने आएको छ । समयलाई कसरी व्यवस्थापन गर्ने हो ?’

जवाफमा निवेदक रहेका विघटित प्रतिनिधिसभाका सदस्य तथा नेकपा नेता कृष्णभक्त पोखरेलले त्यसमा आफूहरू सचेत रहेको बताए ।

‘नेपालको इतिहासमा गम्भीर रुपमा राष्ट्रको ध्यान केन्द्रित रहेको विषय भएकाले बढी कानुन व्यवसायी यसमा संलग्न हुनुभएको हो । संविधान पक्षधरले ऐक्यबद्धता जनाउनुभएको छ,’ उनले भने–‘सम्मानित इजलासले ध्यान दिनुपर्छ भनेको कुरामा पनि सचेत छौं । संविधानको रक्षाका लागि आउनुभएको हो । हामीले पैसा दिएर बहस गराएका पनि छैनौं ।’

जतिसक्दो छोटो बहस गर्नका लागि कानुन व्यवसायीहरुलाई आग्रह गरिएको पोखरेलले इजलासलाई जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा १० दिनयता संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया