मंगलबार, वैशाख ४, २०८१

‘कोरोना खोप लगाएर मान्छे मर्छ भन्नु भ्रम मात्रै’

डा.अनुप वास्तोला २०७७ माघ १४ गते १४:५५

मैले पहिलादेखि नै भन्दै आएको छु कोरोनाको खोप पनि अन्य खोप जस्तै हो । अन्य खोप लगाउँदा ‘साइड इफेक्ट’ नभएका व्यक्तिले कोरोनाको खोप निर्धक्कसँग लगाउँदा हुन्छ ।

खोप लगाए पश्चात् अहिलेसम्म मलाई कुनै पनि ‘साइट इफेक्ट’ गरेको छैन । कोरोना खोप लगाएर ‘मान्छे मर्छ भन्नु एक भ्रम’ मात्रै सावित भएको छ । यो अन्य खोप जस्तै सामान्य खोप हो । खोपको बारेमा भएको नकारात्मक चर्चा परिचर्चा जनमानसमा रहेकोले पनि यो अन्य सामान्य भ्याक्सिन जस्तै भएको कुरा आम रुपमा बुझ्नु आवश्यक छ ।

पहिलो कोरोना संक्रमितको उपचारदेखि हालसम्म कोरोना संक्रमित उपचारमा खटिएको स्वास्थ्यकर्मीको नाताले कोरोनाको खोप लगाउन पाए त्यसलाई मेरो जीवनको एक सौभाग्य मान्छु ।

कोरोना खोप अभियानले नेपालमा कोरोनाविरुद्धको लडाईमा एउटा रणनीति तयार गरिदिएको छ । कोरोनाको पश्चात् व्यक्तिमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कस्तो बन्छ भन्ने विषय व्यक्तिगत तथा संस्थागत रुपमा नै एक अध्ययनको विषय बनेको छ ।

भारत सरकारको अनुदानमा नेपालले ल्याएको कोरोनाविरुद्धको भ्याक्सिन सरकारले सर्वप्रथम म जस्ता स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनर दिने निर्णय गरेको सरकारलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु ।


कोरोनाविरुद्धको लडाईमा आम सर्वसाधारणहरुका लागि समेत यसको व्यवस्था सरकारले गराउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । अहिलेसम्म १८ वर्षभन्दा माथिका व्यक्तिहरुका लागि उक्त खोप लगाउन मिल्ने भनिएको छ ।

१८ वर्षभन्दा कम उमेरका व्यक्तिहरुमा यसको प्रयोगबारे अध्ययन अनुसन्धान भइनै रहेको छ । हालसम्म अध्ययनकै विषय भएका कारण नै गर्भवती महिला तथा स्तनपान गराउने महिलाहरुलाई कोरोना खोप नलगाउनु भनिएको हो । पहिलो डोज खोप लगाएका व्यक्तिहरुमा शारीरिक समस्या देखिए अर्थात् त्यसले रियाक्सन मा दोस्रो डोजको खोप लगाउनुहुँदैन भनिएको हो ।

कोरोना खोपका कारण देखिने नकारात्मक प्रभाव तथा त्यसपछिको उपचारका लागि सरकारले व्यवस्थापन गर्ने भनेको छ यसका साथै शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पाल, टेकुले पनि त्यसको व्यवस्थापन गर्नेछ । खोपका कारण देखिने मुख्य समस्या भनेको श्वासप्रश्वास त्यसका अतिरिक्त रक्तचाप घट्नु पनि कोरोना खोपका कारण देखापर्ने नकारात्मक समस्या हो ।

स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने तथा फ्रन्टलाइनरहरुले अरुलाई कोरोना सार्न सक्ने जोखिम न्यूनीकरणका लागि पहिलो चरणमा स्वास्थ्यकर्मीहरु तथा फ्रन्टलाइनरहरुमा कोरोना खोप लगाएको भएपनि सर्वसाधारणहरुमा पनि यसको पहुँच पुर्‍याउने घोषणा नेपाल सरकारले गरिसकेको छ ।

प्रतिक्रिया