सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी सक्रिय

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटना कम गर्न सरोकारबाला निकायसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा कोनहरु राखेको छ । महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको हो । काठमाडौ उपत्यकाको चक्रपथ तथा चक्रपथ बाहिर २६ स्थान र चक्रपथ भित्र आठ स्थान गरि बढी दुर्घटना हुने ३३ स्थानहरु समेत पहिचान गरेको छ ।
बढि दुर्घटना हुने ति स्थानहरुका सडकमा बिशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्रा क्रसिङ्ग तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाईएको थियो । यसरी हुने सडक दुर्घटना कम गन महाशाखाले निरन्तर अभियानहरू चलाइरहेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए । यस्ता कोनहरू उपत्यकाको विभिन्न सडक खण्डमा चार सय ३० थान राखिएको उनले बताए ।

एयरपोर्ट नयाँ गेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खुचोक, सिता पम्प, खसिबजार, सितापाईला उकालो, वाफल, सानोभर्याङ, वनस्थली, बबरमहल लगायतका सडकखण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
यसअघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी यही पौष १३ गते बालकुमारी देखी सानेपासम्मका बिभिन्न १३ स्थानमा दुुई सय थान सफ्ट पिभिसी ट्राफिक कोन राखेको थियो । ति स्थानहरुमा ट्राफिक कोन राख्नुभन्दा १५ दिन अगाडी ४७ वटा दुर्घटनामा परि तीन जनाको मृत्यु र ३१ जना घाईते भएकोमा ट्राफिक कोण र सडक बत्ति जडान पश्चात त्यस क्षेत्रमा २९ वटा दुर्घटनामा १४ जना मानिस घाईते भएको जनाएको छ ।

प्रतिक्रिया