अपराधीलाई कारबाही नभएसम्म अनशन तोड्दिनँ : गंगामाया
काठमाडौं । वीर अस्पतालमा ३९ औँ दिनदेखि अनशनरत गंगामाया अधिकारीलाई अनशन तोड्न सरकारले आग्रह गरेको छ ।
गत पुस ६ गतेदेखि वीर अस्पतालको ट्रमा सेन्टरको बेडमै अनशनमा बसेकी गंगामायालाई भेटेर गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनशन तोड्न आग्रह गरेका हुन् ।
तर, गंगामायाले अपराधीलाई कारबाहीको दायरामा नल्याएसम्म अनशन नतोड्ने बताएकी छन् ।
काठमाडौंका प्रजिअ पराजुलीका अनुसार अधिकारीले विगतमा सरकारसँग भएका सहमतिअनुसार कारबाही नभएसम्म अनशन नतोड्ने बताइन ।
‘अनशन तोड्नुहोस्, अपराधीलाई कारबाहीको दायरामा ल्याइन्छ, ढुक्क हुनुहोस् भनेर सरकारका तर्फबाट आग्रह गर्दा उहाँले विगतमा भएका सहमतिअनुसार कारबाही नभएसम्म अनशन तोड्दिनँ भन्नुभयो,’ उनले भने ।
केही दिनमा पुनः गएर अधिकारीसँग अनशन तोड्न फेरि आग्रह गरिने प्रजिअ पराजुलीले बताए ।
‘अब म कुनै हालतमा पनि पछि फर्किन्नँ र अनशन पनि तोड्दिनँ,’ पछिल्लो पटक अनशन सुरु गर्दा गंगामायाले भनिन्–‘पहिले मलाई धेरै नै झुक्याइयो, न्याय पाइन्छ भनेर जबर्जस्ती खुवाइयो, तर भएको चाहिँ केही होइन ।’
गोरखा फुजेलकी गंगामायाका १७ वर्षीय कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन विद्रोही माओवादी कार्यकर्ताले चितवनमा अपहरण गरी २०६१ जेठ २४ गते हत्या गरेका थिए । त्यसपछि गंगामाया र उनका पति नन्दप्रसाद अधिकारीले छोराको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका थिए ।
तर, कतै पनि सुनुवाइ नभएपछि उनीहरू काठमाडौं आएर २०७० साउनदेखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनशन बस्न सुरु गरे ।
सत्याग्रहमा बस्दाबस्दै अवस्था नाजुक भएपछि सरकारले अधिकारी दम्पतीलाई वीर अस्पतालमा लगेर राखेको थियो । अस्पतालमै पनि दुवैले सत्याग्रह जारी राखेका थिए । सत्याग्रहको २ सय ३४ औं दिन २०७१ असोज ६ गते नन्दप्रसादको अस्पतालमै मृत्यु भयो । त्यसपछि केही समय तोडिएको अनशन विभिन्न समयमा गंगामायाले जारी राख्दै आएकी थिइन् ।
प्रतिक्रिया