महामारीसँगै वैदेशिक लगानी ३१% घट्यो, आधा वर्षमा चार अर्ब ७५ करोड लगानी
काठमाडौं । महामारीसँगै विदेशबाट आउने लगानीमा समेत कमि आएको छ । लगानी बोर्ड र उद्योग विभागले लगानी स्वीकृतिमा कमि नआएको बताएपनि देश भित्रने रकममा भने कमि आएको छ ।
यो वर्षको आधा समय सकिन लाग्दा जम्मा ४ अर्ब ७५ करोड मात्रै वैदेशिक लगानी आएको छ । जबकी गत वर्षको यहि समयमा ६ अर्ब ५७ करोड वैदेशिक लगानी आएको थियो । यसरी हेर्दा एक वर्षमै वैदेशिक लगानीमा ३१ प्रतिशतले कमि आएको छ ।
वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले दुई वर्षमा एक पटक लगानी सम्मेलन गर्ने गर्छ । वैदेशिक लगानी भित्र्याउनका लागि नै भनेर सरकारले एकै ठाउबाट सरकारी सेवा दिनका लागि एकल बिन्दु सेवा केन्द्र मात्रै होइन वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन समेत संशोधन गरिसकेको छ ।
साथै देशको क्रेडिट रेटिङ नहुँदा लगानी आएन भन्ने गुनासोपछि क्रेडिट रेटिङ गराउनका लागि विदेशी रेटिङ कम्पनी फिचलाई जिम्मा दिइसकेको छ । तर, महामारीका कारण फिचले आएर यहाँ काम गर्न सकेको छैन ।
सरकारले विभिन्न प्रयास गरेको देखाएपनि लगानीकर्ता भने अहिलेसम्म आकर्षित हुन सकेका छैनन् । लगानी गर्छु भनेर प्रतिबद्धता देखाएपनि अहिलेपनि लगानीकर्ताले नेपालमा लगानी गर्न जोखिम देखिरहेका छन् । जसका कारण नै प्रतिबद्धता गरेको झिनो रकम पनि नेपाल आउन सकेको छैन ।
गत वर्ष लगानी बोर्ड र उद्योग विभागले गरेको लगानी स्वीकृतिका आधारमा पौने चार खर्बको लगानी स्वीकृत भएको थियो । तर, यो वर्षको मंसिरसम्म जम्मा ४ अर्ब ७५ करोड रकम भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विदेशी लगानीकर्ताको लगानी स्वीकृति गर्ने तर त्यसलाई कार्यान्वयनमा लान सरकारी निकायले चासो नदिने मात्रै होइन असहयोगका कारण पनि लगानी भित्रन नसकेको होे ।
सरकारलाई यो पटक महामारी भनेर पन्छिने मौका छ । तर, महामारी अघि पनि त सरकारले वैदेशिक लगानी खास भित्र्याउन नसकेको प्रष्ट छ ।
आर्थिक वर्ष २०७५/०७६ मा १६ अर्ब लगानी भित्रेकोमा गत वर्ष जम्मा १९ अर्ब भित्रिएको थियो । महामारीकै बीचमा पनि लगानी स्वीकृति भने भइनैरहेको छ ।
नीतिगत संशोधन गर्दापनि वैदेशिक लगानी भित्रन नसक्नुले के प्रष्ट पार्छ भने विदेशी लगानीकर्ता अझैपनि आश्वस्त हुन सकेका छैनन् भन्ने हो ।
लगानी स्वीकृति बढाउँदै जानेभन्दा पनि केहि आयोजनामा विदेशी लगानीलाई सहजीकरण गरेर लगानी भित्र्याउने हो भने मात्रै अन्य विदेशी लगानी भित्रन सक्छ । लगानी सम्मेलन र लगानी स्वीकृतिका प्रचारप्रसार त सरकारलाई प्रचारप्रसारको मेलो मात्रै हो जसले लगानी भने आकर्षित गर्न नसक्ने प्रष्ट छ ।
प्रतिक्रिया