शुक्रबार, वैशाख ७, २०८१

एनएमबी बैंकको खुद मुनाफा एक अर्ब ६१ करोड

नेपालखोज २०७७ माघ १५ गते १४:४३

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा एक अर्ब ६१ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा एक अर्ब ५१ करोड रहेको छ ।

चालु आवको दोश्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप एक खर्ब ४९ अर्ब र कूल कर्जा सापट एक खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले चालुु आवको छ महिना भित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोड रुपैयाँले वृद्धि गर्न सफल भएको छ ।

यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ तीन दशमलव ८६ प्रतिशतबाट वृद्धि भई तीन दशमलव ९५ प्रतिशत र कर्जा तर्फ चार दशमलव १९ प्रतिशतबाट वृद्धि भई चार दशमलव ४३ प्रतिशत पौष मसान्तसम्ममा पुगेको छ ।

त्यसैगरी, निक्षेपमा भएको वृद्धिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ । कर्जा तथा सापट वृद्धि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पौष मसान्तसम्ममा कूल तीन हजार दुई सय ३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ ।

चालु आवको पौष मसान्तसम्ममा बैंकको पूंजी कोष अनुपात १३ दशमलव ६८ प्रतिशत रहेको छ भने निष्किृय कर्जाको अनुपात दुई दशमलव ३८ प्रतिशत रहेको छ । एनएमबि बैंक विगत चार वर्षमा तीन पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ । विश्व बैंक अन्तर्गत रहेको आईएफसीबाट दोश्रो पटक पुनः अमेरिकी डलर दुई करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ ।

नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक हो । यस बैंकले गत वर्ष र यस वर्ष गरि दुई वटा विकास बैंकहरुलाई मर्ज/प्राप्ती गरि आफ्नो पहुँचलाई विस्तार गरेको छ । बैंकले देश भरीमा एक सय ८० वटा शाखा, नौ वटा एक्सटेन्सन काउन्टर र एक सय ३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया