शुक्रबार, वैशाख ७, २०८१

वर्ल्डलिंकद्वारा नेपालका सबै प्रदेशमा विश्वस्तरीय इन्टरनेट डाटा सेन्टर निर्माण गरिने

नेपालखोज २०७७ माघ १५ गते १६:३८

काठमाडौं । विश्वव्यापीरुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले वृद्धि भइरहेको छ जसले गर्दा इन्टरनेटको पूर्वाधारमा दबाव र प्रयोगकर्तालाई प्राप्त हुने इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको छ ।

गुणस्तरीय किसिमको इन्टरनेट प्रयोगका लागि सकेसम्म प्रयोगकर्ताहरूको नजिक स्थानीयरूपमै सर्भरहरू हुनु आवश्यक हुन्छ, जसले इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डार गर्दछ । नेपालले इन्टरनेट ट्राफिकमा पनि डिजिटल सेवाहरूको उपयोगमा उल्लेखनीय वृद्धि हुने सम्भावना देखिरहेको छ ।

यस बाहेक सरकारले डिजिटल नेपाललाई नेपाल सरकारको राष्ट्रिय गौरव परियोजनाको रूपमा पनि घोषणा गरेको छ । त्यसैले अब दुरसञ्चार पूर्वाधार, नेटवर्क र विकसित प्रविधिको ठूलो आवश्यकता पर्नेछ । सरकार र निजी क्षेत्रका संस्थाहरूले छिटो उच्च प्रविधि यूक्त डिजिटल प्रविधिहरूसँग अनुकूल बनाउनुपर्ने हुन्छ । यसका साथै क्लाउडमा आधारित सेवाहरुमा समेत छिटो भन्दा छिटो अघि बढ्नु पर्नेछ ।

यस आवश्यकतालाई पूरा गर्न नेपालभित्र एक सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त तथा सुविधा भएको डाटासेन्टर हुनु हालको समयको आवश्यकता रहेको छ । डिजिटल नेपाल निर्माण गर्न सरकारको उद्देश्यलाई पछ्याउँदै नेपालको सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ ।

यी डाटासेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटा सेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको छ । १४ डाटसेन्टरहरू मध्ये काठमाडौंको डाटा सेन्टर सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरणसहितको हुनेछ । अन्य बाँकी डाटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ ।

यी डाटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हने छन् । यसको अर्थ यो सुविधाले वर्ल्डलिंकको पूर्वाधार मात्र व्यस्थापन गर्दैन कि अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकमहरुलगायत सरकारी, निजी संस्थाहरू सम्पूर्ण देशलाई चाहिने सूचना प्रविधि, दुरसञ्चार पूर्वाधारको व्यवस्थापन गर्नेछ ।

आगामी ३ वर्षमा वर्ल्डलिंकले डाटासेन्टर निर्माण गर्न करिब तिन सय करोडको लगानी गर्नेछ। यसको उद्देश्य हाम्रो ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिन साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु हो।

यी इन्टरनेट डाटा सेन्टरहरूको सुविधाले सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउने छन् । यहाँसम्म कि सरकारी र निजी संस्थाहरूले उनीहरूको आफ्नो डिजिटल र क्लाउडमा आधारित पूर्वाधारहरु संचालन गर्न एउटा धेरै नै सुरक्षित र भरपर्दो विश्वस्तरीय सुविधा प्राप्त गर्नेछन् ।

वर्ल्डलिंकले डाटा सेन्टर निर्माणमा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल विधुत प्राधिकरण तथा नेपाल सरकारसंग सहकार्य गर्ने छ र यो पूर्वाधार डिजिटल नेपालकै अति महत्वपूर्ण पूर्वाधारको रुपमा स्थापित हुनेछ ।

प्रतिक्रिया