शुक्रबार, वैशाख ७, २०८१

आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित

नेपालखोज २०७७ माघ १५ गते १६:३३


वीरगञ्ज । तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ ।

आर्थिक वर्ष २०७६र ७७ को पहिलो ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव ९२ प्रतिशत आयात कम भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा पहिलो ६ महीनामा रू दुई खर्ब ३८ अर्ब ८५ करोड ९८ लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रू दुई खर्ब १० अर्ब ३८ करोड ९ लाख ४७ हजारको मूल्य बराबरका सामान मात्र आयात भएको छ ।

यसैगरी चालू आर्थिक वर्षको पुस महीनासम्ममा निर्याततर्फ ६ दशमलव १ प्रतिशतले राजस्व वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु १८ अर्ब ४१ करोड ५१ लाख ९१ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रू १९ अर्ब ९३ करोड ९० लाख ९७ हजार मूल्य बराबरको मालवस्तु भारततर्फ निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा रू २० अर्ब २५ करोड ७८ लाख ५६ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा ७५ दशमलव ९९ प्रतिशत अर्थात रू १५ अर्ब ३९ करोड ४४ लाख ९४ हजार राजस्व उठेको छ ।

समग्रमा चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रु ८५ अर्ब ५१ करोड ३४ लाख १९ हजार राजस्व उठाउनु पर्नेमा ८६ दशमलव ०२ प्रतिशत अर्थात रु ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार मात्र राजस्व उठाउन सकेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । यो लक्ष्यको तुलनामा १३ दशमलव ९८ प्रतिशत कम राजस्व उठेको हो ।

यो नाका भएर मुख्य रुपमा इन्धन, सवारीसाधन, औद्योगिक कच्चापदार्थ भित्रिएको छ । कच्चा पदार्थमा भटमासको कच्चा तेल, कोइला, सुर्ती, एचआरसिट, बिलेटलगायतका वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए ।

गतवर्ष यो नाकाबाट आउने पाम आयल निकासीमा भारत सरकारले रोक लगाएपछि राजस्व वृद्धिमा कमी आएको देखिन्छ । पाम आयलमा प्रतिबन्ध लगाएपछि व्यापारीले भटमासको प्रशोधित तेल निकासीमा जोड दिएका छन् । यो नाकाबाट जुस, कपडा, दन्तमञ्जन, सेन्थेटिक यार्न, जुत्तालगायतका वस्तु निकासी भएका छन् ।

प्रतिक्रिया