सकिन लाग्यो चिनीको मौज्दात, सरकारले दिएन खरिद अनुमति

नेपालखोज २०७७ माघ १६ गते ६:५३

काठमाडौं । सरकारी अनुदानको चिनी खरिद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरिदको अनुमति दिएको छैन ।

यस वर्ष नेपाली चिनी उद्योगहरूले उत्पादन गर्ने चिनीको मात्रा कति हुन्छ भन्ने कुरा यकिन नभइसकेकाले खरिद अनुमति दिनमा ढिलाइ भइरहेको बताइएको छ । साल्ट ट्रेडिङले दशैं अघि नै ३० हजार टन चिनी खरिदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । तर, अहिलेसम्म साल्टले खरिद अनुमति पाउन सकेको छैन ।

यसअघि चाडपर्वलाई लक्षित गर्दै चिनी खरिद गर्ने क्रममा साल्ट ट्रेडिङले सरकारसँग ५० हजार टन चिनी खरिदका लागि अनुमति मागेकोमा २० हजार टनको मात्र अनुमति पाएको थियो । साल्टसँग यतिबेला १ हजार टन मात्र चिनी मौज्दात रहेको छ । चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले खरिद अनुमति नदिनु दुःखद भएको साल्ट ट्रेडिङका महाप्रबन्धक कुमार राजभण्डारीले बताए । ‘मौज्दात पर्याप्त राख्न र बजार मूल्य नियन्त्रण गर्न हामीले दशैं अघि नै खरिद अनुमति माग्दा पनि अहिलेसम्म अनुमति पाउन सकेनौं, जसको असर अहिले बजार मूल्यमा परिरहेको छ,’ उनले भने ।

चिनीको मौज्दात रित्तिने क्रममा रहेको भएपनि साल्टले खरिद अनुमति पाउन अझै डेढ महीना लाग्न सक्ने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार यति बेला नेपाली चिनी उद्योगहरूले उखु क्रशिङ गरिरहेकाले आन्तरिक उत्पादन कति हुन्छ भन्ने यकिन भइसकेको छैन ।

फागुनको अन्तिम सातासम्म क्रशिङको काम सकिएर आन्तरिक उत्पादनको परिमाण थाहा भएपछि मात्र बाहिरबाट कति आयात गर्ने भन्ने कुराको टुँगो लाग्ने हुँदा त्यही अनुसार साल्टलाई खरिद अनुमति दिइने उनले बताइन् ।

सरोकारवालाहरूका अनुसार सामान्य अवस्थामा नेपालमा प्रतिमहिना करीब ३० हजार टन चिनीको खपत हुने गर्छ । त्यसैगरी दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वका समयमा मात्र ७० हजार टनसम्म चिनीको खपत हुने अनुमान गरिएको छ । नेपाली चिनी उद्योगहरूले वार्षिक १ लाख ८० हजार मेट्रिकटन चिनी उत्पादन गर्ने गरेको सरकारी तथ्यांक छ भने अपुग चिनी भारत लगायत देशबाट आयात गर्ने गरिन्छ ।

सरकारी कम्पनीसँग मौज्दात सकिएको मौका छोप्दै उद्योगीहरूले यति बेला चिनीको मूल्य बढाएको बताइएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार अहिले उखुको क्रशिङको समय भएकाले सिजनमै चिनीको मूल्य बढ्नु अस्वाभाविक हो । उनका अनुसार अहिले प्रतिकिलो चिनीको खुद्रा मूल्य ८५ रुपैंयाँ रहेको छ । अबको केही दिनमै मूल्य बढेर प्रतिकिलो ९० रुपैंयाँसम्म पुग्ने उनले बताए । उद्योगीहरूले चिनीको गेट मूल्य बढाएकाले खुद्रा बजारमा पनि मूल्य बढ्नु स्वाभाविक भएको उनको भनाइ छ ।

चिनी उद्योगीहरूले यति बेला चिनीको गेट मूल्य प्रतिकिलो २ रुपैंयाँका दरले बढाएका छन् । सरकारले गतवर्षको तुलनामा उखुको न्यूनतम समर्थन मूल्यमा प्रतिक्वीन्टल ८ रुपैयाँका दरले बढाउँदै ५ सय ४४ रुपैंयाँ ३३ पैसा मूल्य निर्धारण गरेको छ । आजको अभियानमा समाचार छ ।

प्रतिक्रिया