नेकपाको आधिकारिकता विवाद टुंगिसक्यो : सुवास नेम्वाङ
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको समूहका नेता सुवास नेम्वाङले नेकपाको आधिकारिकता विवाद टुंगिसकेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेम्वाङले आयोगले नेकपाको आधिकारिकता विवाद टुंगाइसकेको र आयोग निर्वाचनको तयारीमा जुटेको नेता नेम्वाङको दाबी छ ।
निर्वाचन आयोगले शुक्रबार नेकपाका दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर, प्रचण्ड–नेपाल समूहले छलफलका लागि थप समय मागेपछि आयोगले ओली समूहका नेताहरुसँग मात्रै छलफल गरेको थियो । उक्त छलफलमा दल दर्ता र निर्वाचनका बारेमा मात्रै छलफल भएको नेम्वाङले जानकारी दिए ।
नेकपाको आधिकारिकताबारे आयोगले निर्णय गरिसकेको दाबी गर्दै नेम्वाङले भने–‘अधिकारिकताको सन्दर्भमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यही आधिकारिकताको जगमा उभिएर यो सम्पूर्ण प्रक्रिया अगाडि बढ्छ । हामी समयमा निर्वाचन सम्पन्न गर्छौं भनेर निर्वाचन आयुक्तले जानकारी दिनु भएको छ ।’
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दुवै पक्षले विवरण हेरफेरका लागि गरेको आग्रहलाई अस्वीकार गरिसकेको छ । दुवै पक्षलाई त्यसको जानकारीसमेत पठाएको थियो ।
प्रतिक्रिया