आइतबार, जेठ ६, २०८१

असन अन्नपूर्ण नारायण मन्दिरमा महिला पुजारी

नेपालखोज २०७७ माघ १६ गते १५:०३


गुठी संस्थान काठमाडौँ शाखा कार्यालयले काठमाडौँ महानगरपालिका–२७ असनस्थित अन्नपूर्ण नारायण मन्दिरको पुजारीमा महिला नियुक्त गरेको छ ।


शाखाले बिहीबार सहनशीला झालाई नियुक्त गरेको कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।


सहनशीला झा पहिलो महिला पुजारी भने नभएको कार्यालय प्रमुख सुवेदीले बताए । यसअघि ललितपुरको गोदावरीस्थित पञ्चदेवललगायतका मन्दिरमा पनि महिला पुजारी नियुक्त भइसकेको संस्थानले जनाएको छ ।

यसअघि सहनशीलाका भाइ प्रमोदले मन्दिरको पूजा गर्दै आएकामा विदेश गएपछि उनलाई पुजारीमा नियुक्त गरिएको हो । झालाई एक वर्ष परीक्षणकाल रहने गरी बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको हो । लगत दरबन्दीअनुसारको नित्य र पर्व पूजाबापतको खर्च पाउने गरी नियुक्त गरिएको संस्थान शाखा कार्यालय काठमाडौँका प्रमुख सुवेदीले जानकारी दिए । रासस

प्रतिक्रिया