एमाले इतिहास भइसक्यो, आजको यथार्थ नेकपा हो : झलनाथ खनाल
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले एमाले अब इतिहास भइसकेको बताएका छन् । दाहाल–नेपाल समूहले शुक्रबार विराटनगरमा संसद विघटनविरुद्ध आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै नेता खनालले ओली समूह गाउँगाउँ पुगेर नेकपा एमाले ब्यूँताउन खोजेको बताएका हुन् ।
एमाले अब इतिहास भइसकेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको उनको भनाइ थियो । उनले भने, ‘नेकपा एमाले इतिहास भइसक्यो । अब माओवादी पनि इतिहास भइसक्यो । प्रचण्ड अब माओवादीका नेता होइनन् । आजको यथार्थ नेकपा हो ।’
पार्टी फुटाउनका लागि केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत मत चाहिने भएपनि ओलीसँग त्यो संख्या नै नभएको बताएका हुन् । ४० प्रतिशत नभएका ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने नेता खनालको भनाइ छ ।
बालुवाटारको भेला गुटको बैठक मात्र भएको उनले बताए । खनालले केपी ओली एक नम्बरको ठक भएको समेत आरोप लगाए ।
प्रतिक्रिया