प्रधानमन्त्रीविरुद्ध चितवनमा प्रचण्ड–नेपाल समूहद्वारा टायर बालेर प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चितवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
शनिबार नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउँदै गर्दा प्रचण्ड–नेपाल समूहले भरतपुरका मुख्य सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले भरतपुरको मुख्य चोकहरुमा टायर बालेर प्रदर्शन गर्नुका साथै नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेका छन् । अनेरास्ववियूका केन्द्रीय सदस्य सुरज सिंह ठाकुरका अनुसार अनेरास्ववियू लेखिएको कालो पर्चामा असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरु होसियार, जनमतको कदर गर, निरंकुशता लाद्न पाइदैन लगायतका नारा लेखिएको छ ।
प्रधानमन्त्री ओली चितवन आएर आफ्नो सम्बोधन अघि महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्दै छन् । यसको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै पत्रकार सम्मेलन मार्फत शुक्रबार विरोध गरेका थिए ।
महानगर र नेकपा चितवनले कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चर्चाका लागि काम सुरु भएको योजना शिलान्यास गर्न आएको आरोप लगाएका छन् ।
असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा चितवनमा नेकपा प्रचण्ड–नेपाल समूह निकट नेता कार्यक्रताले निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन् ।

प्रतिक्रिया