बिहीबार, माघ १०, २०८१

पार्टीमा झगडा लगाउन खप्पिस गौतम कसरी भए एकताका सूत्रधार !

नेपालखोज २०७७ माघ १७ गते १४:१०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भइसकेको छ भने यसको घोषणा हुने भने बाँकी छ । प्रचण्ड–नेपाल समूह र केपी शर्मा ओली पक्षले आ–आफ्नो पार्टी आधिकारिकता भएको बताउँदै आइरहेका छन् ।

Advertisement

दुई समूहमा विभाजन भएको नेकपाबीच नेता कार्यकर्ता तानातानको अवस्था नै सिर्जना भइरहेको छ । यस्तो तवानको अवस्थामा नेकपाका उपाध्यक्ष बामदेव गौतमले भने पार्टी एकता अभियान नै घोषणा गरे ।

तर, राष्ट्रिय राजनीतिमा पद र शक्तिका लागि जे पनि गर्न तयार हुने छवि बनाएका गौतम के नेकपामा एकताका सूत्रधार बन्न सक्लान् त ? भन्ने प्रश्न उठ्न थालेको छ ।

गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका रुपमा दुई समूहमा विभाजित भयो । बाँकी छ त केबल कुन समूहले आधिकारिकता पाउँछ भन्ने मात्रै । यस्तो अवस्थामा दुवै पक्षको तानातानमा परेका तर शक्ति र वैधताको जोखाना हेरिरहेका उपाध्यक्ष गौतमले पार्टी एकता अभियान घोषणा गरेका छन् ।

पार्टी एकता अभियान घोषणाका क्रममा गौतमले पार्टी फुटाएर निर्वाचनमा गए पराजित हुनुको विकल्प नरहेको समेत बताएका थिए ।

बुधबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै गौतमले पार्टी विभाजन भए अर्को दल पहिलो बन्ने बताए । “फुटेर चुनावमा जाँदा हामी पराजित हुनुको विकल्प छैन । २–४ ठाउँमा जितिएला । फुटेर गए मत विभाजित हुन्छ । अर्को पार्टी सरकारमा जानेछ । निर्वाचन निर्माणका निम्ति हुन्छ, जुटेर मात्रै प्राप्त गर्न सकिन्छ,’’ उनले भनेका थिए ।

आफूले चार वर्ष ‘फुटेर प्राप्त गर्न सकिन्छ’ भन्दै हिँडेको बताउँदै पार्टी फुटाएर जाँदा एउटा पनि सिट जित्न नसकेको सम्झिए । “व्यवहारिक र राजनीतिक रुपमा फुटेको छ । कानुनी रुपमा फुटेको छैन । म विभाजनको प्रत्यक्षदर्शी छु,’’ उनले भने ।

१३ वर्ष संघर्ष गरेर बनाएको पार्टी तीन वर्ष नै नपुगी फुटेको उनले बताए । पार्टी जुट्न आवश्यक रहेको उनले उल्लेख गरे ।

पार्टीका दुई अध्यक्षहरु पार्टीलाई चिरा पार्न लागिपरेको आरोप पनि उनले लगाए । यसले जनतामा निराशा उत्पन्न भएको उनको भनाइ छ । गौतमले पार्टी एकताका बारेमा अवधारणापत्र सार्वजनिक समेत गरेका छन् ।

अब यो प्रश्न उठ्छ, के साँच्चै गौतम एकताका सूत्रधार हुन् ? उनको विगतको पृष्ठभूमि र व्यवहारले भने त्यस्तो देखाउँदैन । साढे दुई वर्षअघि जब नेकपा एक थियो, त्यसबेला उनको भूमिका पार्टी एकताको पक्षमा भन्दा आफूले पाउने पद र शक्तिमै केन्द्रित थियो ।

उनले पार्टीमा कहिले ओलीतिर त कहिले प्रचण्डतिर लागेर विवाद बल्झाउने काम गरेका थिए । प्रतिनिधिसभा चुनाव हारेर पनि सांसद् बन्न उनले नेकपामा कुनै दाउपेच खेल्न बाँकी राखेनन् । सुरूमा आफू हारेवापतको क्षतिपूर्तिस्वरूप श्रीमती तुलसा थापालाई समानुपातिक सांसद् बनाउन लगाए । त्यसपछि पार्टीमा लामो झगडा गराएर भए पनि आफू चोरबाटो समातेर राष्ट्रियसभामा छिरे । आफ्नै सत्तामोह पूरा गर्न र प्रधानमन्त्री हुने मृगतृष्णा मेट्न नेकपाभित्र संविधान संशोधनको रडाकोसम्म चलाए । तर, उनी त्यतिमा मात्र रोकिएनन् । आफू शक्तिशाली हुन पार्टी एकता गर्दा नभएको पद उपाध्यक्ष सिर्जना गर्न लगाए । जति समय नेकपा एक रह्यो, त्यस अवधिभर गौतमले आफ्नै पद र शक्तिको मोलमोलाईका लागि कुनै न कुनै विवाद निकालिरहे । नेकपा झगडाको मुख्य अखडा ९ सदस्यीय सचिवालयमा चार–चारजना दुईतिर बाँडिदा उनले चाहेका भए एकता कायम राख्ने भूमिकामा थिए । तर, निर्णायक बिन्दुमा उनको असन्तुलित भूमिकाले नेकपा दुईचिरा भएको छ ।

हुन त गौतमले सत्ता र शक्तिकै लागि २०५४ सालमा एमालेलाई फुटाएका थिए । २०५६ मा उनको समूहले देशभरबाट पराजय बेर्होनुपरेपछि पुनः एमालेमै भित्रिए ।

गौतमलाई विगतसँग तुलना गर्ने हो भने अहिलेको यो अभियानलाई नक्कली भन्नेहरु धेरै छन् । पार्टीभित्र होस् वा बाहिर, पदका लागि मरिहत्ते गर्ने छवि बनाएका गौतमको अभियानलाई नेकपाकै धेरैले पत्याउन सकेका छैनन् ।

प्रतिक्रिया