आइतबार, वैशाख २३, २०८१

प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते

नेपालखोज २०७७ माघ १८ गते १९:०३

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बस्ने तय तय भएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशन गरी माघ २५ गते २ बजेका लागि बैठक बस्ने जानकारी दिएको छ ।

माघ ७ गते करिब ३ मिनेट बसेर बैठक अर्को सूचना नआउन्जेलसम्मका लागि भन्दै स्थगन गरिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए ।

नेकपाको विवाद र मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण प्रदेशसभा बैठकलाई बाहिरबाट समेत निकै महत्त्वसाथ हेरिएको छ । नेकपाभित्र एक समूहले अर्कोलाई कारबाही गर्ने शृंखंलाबीच फेरि बस्न लागेको बैठकको विषयमा जनस्तरमा समेत चासो छ ।

प्रदेशसभाको अबको बैठकमा अविश्वास प्रस्तावमा छलफल हुनेछ । पुष्पकमल दाहाल(माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्तावमाथि छलफल चाहेका छन् भने केपी शर्मा ओलीनिकटले यो प्रस्ताव विधिसम्मत नभएको दाबी गर्दै आएका छन । तर, प्रमुख विपक्षी कांग्रेसले भने पार्टीको विवादमा प्रदेशसभाका काम-कारबाहीमा प्रभाव पर्न नहुने बताउँदै आएको छ ।

मुख्यमन्त्री राईलाई दाहाल-नेपाल समूहले संसदीय दलको नेताबाट हटाएको छ । यसैगरी राई समूहले पनि नेता भीम आचार्यसहित १६ जनालाई निलम्बन गरिएको जनाएको छ । तर, यो विवादले प्रदेशसभामा असर गर्न नहुने विपक्षी सांसदको मत छ ।

प्रतिक्रिया