बुधबार, माघ २, २०८१

थुना मुक्त गराई दिन्छौं भन्दै २ लाख ठग्ने पक्राउ

नेपालखोज २०७७ माघ १९ गते १३:३३

भक्तपुर । बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यबिनायक नगरपालिका ६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका ४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका ६ बस्ने रामेछाप सुनपाती गाउँपालिका ७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।

Advertisement

गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका ६ गणेश मन्दिर नजिकबाट बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनेर ग्याल्छेन र बीर बहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बीर बहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ ग्याल्छेन र बीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया