प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
अध्यक्ष प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता समीर हायूले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।
प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरुमा बोल्नुका साथै न्यायाधीशहरुलाई लक्षित गरेर अभिव्यक्ति दिएको निवेदनमा लेखिएको छ ।
प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता भएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा केही दिनयता निरन्तर बहस चलिरहेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध भने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तमासे भनेको र कानुन व्यवसायीले तमासा देखाएको भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो ।
उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको अवस्थामा त्यससँग सम्बन्धित अभिव्यक्ति दिएको एवं विज्ञप्ति जारी गरेको भन्दै प्रधान्यायाधीशहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया