बुधबार बस्दै संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ ।
निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको संवैधानिक नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो ।
राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार बैठकको पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेण्डामा विविध उल्लेख गरिएको छ ।
यसअघि संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका थिए ।
आइतबार सभामुख अग्नि सापकोटाले संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेश गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र फिर्ता पठाएका थिए ।
सोमबार राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया