राजीनामा दिँदै अख्तियारका कार्यवाहक प्रमुख जोशी र आयुक्त थापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशी र आयुक्त सावित्री थापा गुरुङले पदबाट राजीनामा दिने भएका छन् ।
आफूहरू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख आयुक्तमा नियुक्त भएर आउने भएपछि उनीहरूले बुधबार राजीनामा दिने तयारी गरेका हुन् ।
तर, यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी नभएको बताइएको छ ।
नेपालखोजसँगको फोन सम्पर्कमा आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले यसबारे जानकारी नभएको बताएका छन् । उनले भने–‘उहाँहरुले राजीनामा सम्माननीय राष्ट्रपति समक्ष दिने हो । यसबारे राष्ट्रपति कार्यालयबाट थाहा हुन्छ ।’
यता आयोगका कार्यवाहक प्रमुख आयुक्त जोशी र आयुक्त गुरुङले नवनियुक्त पदाधिकारीहरु अख्तियार आउनुभन्दा अघि नै राष्ट्रपति समक्ष राजीनामा दिने तयारी गरेका छन् ।
तर, राष्ट्रपति कार्यालयमा प्रमुख आयुक्त जोशी र आयुक्त गुरुङको राजीनामा पत्र नआइसकेको राष्ट्रपति कार्यालयका प्रवक्ता एवं सहसचिव जगन्नाथ पन्तले नेपालखोजलाई बताए ।
उनले भने–‘आज प्रमुख आयुक्तज्यू र सदस्यहरुको नियुक्ति तथा सपथ कार्यक्रम सम्पन्न भएको छ । तर, राजीनामाकाे विषय अहिलेसम्म राष्ट्रपति कार्यालयमा आइपुगेको छैन ।’
यद्यपि यस विषयमा बुझ्न खोज्दा दुवैसँग सम्पर्क हुन सकेन ।
अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव भएका थिए । त्यति बेला जोशी र गुरुङ दुवै जना अख्तियारमा आयुक्त थिए ।
२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका दुवै जना ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै थिए ।
संविधानमा संवैधानिक निकायका पदाधिकारीले राजीनामा बुझाउनासाथ त्यो स्वीकृत हुने र पद रिक्त हुने व्यवस्था छ ।
नेपाल सरकारको सचिवबाट अवकाश पाएका जोशी अख्तियारमा समेत सचिव भइसकेका थिए । ‘एकेडेमिक’ छवि बनाएका उनी यो अवधिमा विवादमा परेनन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोटामा सिफारिस भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई प्रमुख आयुक्तमा सिफरिस गरेनन् ।
यसैगरी त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रकी प्राध्यापक रहेकी गुरुङ पनि खासै विवादमा परेकी थिइनन् । पदबाट राजीनामा नदिई अख्तियारमा नियुक्ति लिएकाले मुद्दा परे पनि उनले पछि राजीनामा गरेकी थिइन् । अख्तियारमा लोकमानसिं कार्कीको कार्यकालमा गैरसंवैधानिक एवं कानूनविपरीत क्रियाकलाप हुँदा मौन बसेको आरोप भने दुवैमाथि थियो । उनीहरूले राजीनामा दिएमा अख्तियारमा अब दुई पद रिक्त हुनेछ । अख्तियारकाे रिक्त रहेका उक्त पदमा जोशी र गुरुङसँगै ५ पदाधिकारी नियुक्त भएका थिए ।

प्रतिक्रिया