अख्तियारका कार्यवाहक प्रमुख जोशीले दिए राजीनामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले बुधबार दिउँसो राजीनामा दिएका छन् । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमुख आयुक्त जोशीले राजीनामा दिएका हुन् ।
जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम आजकै मितिदेखि लागू हुने गरि पदबाट लिखित राजीनामा दिएका हुन् । आफूहरू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका प्रेमकुमार राई प्रमुख आयुक्तमा नियुक्त भएर आउने भएपछि उनले राजीनामा दिएको बताइएको छ ।
अख्तियारको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेमकुमार राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियारका सचिव भएका थिए । त्यति बेला जोशी अख्तियारमा आयुक्त थिए ।
२०७१ चैत १९ गते अख्तियारको आयुक्तमा नियुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण आगामी चैत १९ गते अवकाश पाउँदै थिए ।
संविधानमा संवैधानिक निकायका पदाधिकारीले राजीनामा बुझाउनासाथ त्यो स्वीकृत हुने र पद रिक्त हुने व्यवस्था छ ।
नेपाल सरकारको सचिवबाट अवकाश पाएका जोशी अख्तियारमा समेत सचिव भइसकेका थिए । ‘एकेडेमिक’ छवि बनाएका उनी यो अवधिमा विवादमा परेनन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोटामा सिफारिस भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई प्रमुख आयुक्तमा सिफरिस गरेनन् ।
प्रतिक्रिया