आइतबार, जेठ ६, २०८१

आमहड्तालको प्रभाव देशभर, यस्तो छ सातै प्रदेशको पछिल्लो अवस्था

नेपालखोज २०७७ माघ २२ गते १४:३९

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार संवैधानिकनिकायहरुमा भएको नियुक्तिको विरोधमा देशभर आमहड्ताल गरेको छ ।

बिहीबार बिहानैबाट प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता सडकमा निस्किएर नारावाजी गरिरहेका छन् ।

यता आफ्नो पार्टीले घोषणा गरेको आमहड्ताललाई सफल बनाउन प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु सडकमा उत्रिएका छन् । विभिन्न जिल्लाबाट छुटेका रात्री सेवाका गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेर कटाएको छ भने ठाउँ–ठाउँमा सवारी साधनमाथि तोडफेड समेत भएका छन् ।

महानगरीय प्रहरी कार्यालय काठमाडौंका अनुसार काठमाडौं उपत्यकामा छिटफुट मात्रामा सवारी साधन चलेको छ । ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ भने उपत्यकाबाट ८१ जनालाई नियन्त्रणमा लिइएको छ ।

बिहीबार दिउँसो उपत्यकासहित ७ प्रदेशमा के–के भए ? नेपालखोजले सातै प्रदेश प्रहरी कार्यालयसँगको सम्पर्कमा तयार पारिएको यो रिपोर्ट ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालको प्रभाव देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । नेपालखोजसँगको सम्पर्कमा जिल्ला प्रहरी कार्यालय कैलालीले लामो तथा छोटो दूरीका सवारी साधान पूर्णरुपमा बन्द रहेको जनाएको छ । पसलहरु पनि पूर्णरुपमा बन्द रहेको रहेको छ । साथै अहिलेसम्म त्यस्तो अप्रिय केही घटना नघटेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा पनि आमहड्तालको प्रभाव परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा सवारीसाधन चलेका छैनन् भने लामो दूरीका सवारी साधनलाई डाइभर्सन गरेर गन्तव्यसम्म पुर्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ता बन्द गराउन भन्दै सडकमा निस्किएका छन् भने त्यस्तो कुनैपनि अप्रिय घटना अहिलेसम्म नघटेको प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले बताए । साथै सुर्खेतमा पसलहरु पनि पूर्णरुपमा बन्द छन् ।

प्रदेश ५
त्यसैगरी प्रदेश ५ को अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङसँगको सम्पर्कमा लामो तथा छोटा दूरीका सावारी साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् भने हालसम्म कुनै उछृंखल गतिविधि नभएको प्रहरीले बताएका छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेश आमहड्तालको आंशिक प्रभाव परेको प्रहरी कार्यालय पोखराले जनाएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरका डिआइजीपी घनश्याम अर्यालका अनुसार सार्वजनिक यातायात कम चलेको छ भने पसलहरु फाट्टफुट्ट खुलेको छ ।

डिआइजीपी अर्यालले अहिलेसम्म गण्डकी प्रदेशमा कुनै पनि अप्रिय घटना नघटेको भएपनि बन्द गराउन हिँडेका प्रचण्ड–नेपाल समूहका १७ जना कार्यकर्तालाई पक्राउ गरेको बताए । तनहुँमा १६ र कास्कीमा १ जना गरी १७ जना पक्राउ परेको उनले बताए ।

बागमती प्रदेश
बागमती प्रदेश प्रहरी कार्यालय धानाभर्याङ हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले बागमती प्रदेशमा केही छिटफुछ घटना घटेको बताएका छन् । प्रचण्ड–नेपाल समूहद्वारा घोषणा गरिएको आमहड्तालका कारण बागमती प्रदेशमा पूर्णरुपमा प्रभाव पर्नुका साथै सार्वजनिक यातायातमाथि तोड्फोड भएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले बताए । नेपालखोजसँगको सम्पर्कमा उनले बनेपामा ६ पुरुष र एक महिला, मकवानपुरबाट १ जना गरी ८ जना पक्राउ परेको बताए । साथै हेटौंडाबाट लामो दूरीमा चल्ने सवारी साधनलाई डाइभर्सन गरेर पठाउन लागेको समेत उनले बताए । साथै चितवनमा ६, मकवानपुरमा ३ र सिन्धुलीमा २ वटा सवारी साधनमा तोडफोड भएको छ ।

प्रदेश २
प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले अहिले प्रदेशमा सामान्य घटना घटेको जनाएको छ । प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथै गस्तीमा खटिएका प्रहरीको गाडीमाथि तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रचण्ड–नेपाल समूहको ढुंगा प्रहारबाट दुई जना प्रहरी घाइते भएका छन् । उनीहरुको टाउको र हातमा चोट लागेको छ । आमहड्ताल सफल बनाउन हिँडेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश १
प्रदेश १ मा लामो दूरीका सवारीसाधन सञ्चालन नभए पनि छोटो दूरीमा यातायात सञ्चालन भइरहेको प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले जानकारी दिए । मोरङ र झापामा टायर बाल्ने प्रयास भए पनि प्रहरीले तितरबितर पारेको कार्कीले बताए । विराटनगरमा बिहीबार बिहानैदेखि प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ता सडकमा निस्किएका छन् । धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया