थप कोरोना खोप उपलब्ध गराउन भारतलाई राज्यमन्त्री मानन्धरको आग्रह

नेपालखोज २०७७ माघ २२ गते १६:०८

नयाँ दिल्ली । कोरोना विरुद्धको खोप अनुदान बढाउन भारतसँग सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आग्रह गरेका छन् ।

विश्व रेकर्डको प्रमाणपत्र लिन भारत पुगेका मन्त्री मानन्धरले दिल्ली अध्ययन केन्द्रले आयोजना गरेको नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रियामा बोल्दै सो आग्रह गरेका हुन् ।

उनले भारतले कोरोनाविरुद्धको अनुदानमा दश लाख डोज खोप उपलब्ध गराएकोमा नेपाल सरकारका तर्फबाट धन्यवाद दिँदै थप खोप उपलब्ध गराइदिन आग्रह गरेका हुन् ।

मन्त्री मानन्धरले भारतमा उत्पादित कोरोनाविरुद्धको खोपको प्रभावकारीता राम्रो देखिएको बताउँदै अनुदान बढाउन आग्रह गरे ।

कार्यक्रममा मन्त्री मानन्धरले दुई देशबीच पौराणिक कालदेखिको सम्बन्ध रहेको बताउँदै संस्कार र सांस्कृतिक रुपमा समानता नै दुई देशबीचको सम्बन्धको आधार रहेको बताए ।

नेपाल भारतबीच केही स्थानमा सीमा विवाद देखिएको बताउँदै मन्त्री मानन्धरले आपसी समझदारी र छलफलबाट सीमा विवाद टुंग्याउनुपर्ने बताए । सीमा विवाद समाधानमा ढिलाई गर्न नहुने बताउँदै मन्त्री मानन्धरले वार्तामा बस्न नेपाल तयार रहेको बताए ।

कार्यक्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले महामारी नियन्त्रणका लागि भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको दश लाख डोज खोप आपत्कालिन प्रयोगका लागि उपलब्ध गराएको बताउँदै भारतले सबैभन्दा बढी प्राथमिकता नेपाललाई दिने बताए । भारतको सबैभन्दा पहिलो मित्र राष्ट्र नेपाल भएको बताउँदै नेता जोलीले सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको थप डोज उपलब्ध गराइने बताए ।

प्रधानमन्त्री मोदीसहित भारत सरकार सम्भव भएसम्म नेपाललाई थप खोप उपलब्ध गराउन प्रयासरत रहेको जोलीले बताए । नेता जोलीले प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रिय विकास योजनाबाट सबैभन्दा बढी लाभ नेपालले लिनसक्नुपर्नेमा जोड समेत दिए । नेता जोलीले नेपालमा भारतप्रतिको दृष्टिकोरणमा केही भ्रम देखिएको बताउँदै शंकाको दृष्टिले नहेर्न आग्रह पनि गरे । ।

प्रतिक्रिया