आइतबार, जेठ ६, २०८१

भारतीय बिजुलीको भरमा देशको आधा भूभाग उज्यालो !

नेपालखोज २०७७ माघ २३ गते १०:३६

काठमाडौं । सुख्खा बढ्दै गएपछि अहिले खोलामा पानीको बहाव घटेको छ । जसका कारण स्वदेशी आयोजनाको उत्पादन ह्वात्तै घट्न पुगेको छ । मुलुकमा आधा जसो बिजुली अहिले भारतबाट ल्याउनु परिरहेको छ ।

देशमा राष्ट्रभक्तिका नारा घन्कीरहेका छन् । तर, तिनै नारा घन्काउने स्पीकरमा भने भारतीय बिजुली रहेको उनिहरुलाई पत्तो छैन । स्वाधिनताका कुराहरु चर्काे रुपमा गरेपनि सरकार आर्थिक रुपमा स्वाधिन बन्न भने कुनै प्रयास नगरी बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीमा आत्मनिर्भर हुनका लागि खासै ठोस योजना अघि सार्न सकेका छैनन् । त्यसैले नयाँ योजना अघि बढ्न नसक्दा सुख्खा समयमा भारतको बिजुली प्रयोग गर्नुपर्ने स्थिती अलि वर्ष कायम नै रहने देखिएको छ ।

विद्युत प्राधिकरणका अनुसार बुधबार देशको पिक डिमान्ड १४ सय ४३ मेगावाट रहेको थियो । गत वर्ष भने यही समयमा बिजुलीको माग १२ सय ६२ मेगावाट रहेको थियो । देशमा यसरी विद्युतको माग बढ्दै गर्दा सरकार जलाशययुक्त आयोजना अघि बढाउन भने चुकेको छ ।

जसका कारण मुलुकको आधा भाग अहिले भारतीय बिजुलीको भरमा उज्यालो भइरहेको छ । विद्युत प्राधिकरणका अनुसार १४ सय ४३ को माग धान्नका लागि ६ सय ९१ मेगावाट बिजुली भारतबाट आइरहेको छ । यो कुल विद्युत मागको ४७ प्रतिशत हो ।

यसबाहेकको माग धान्नका लागि विद्युत प्राधिकरणका आयोजनाबाट ४ सय ९५ मेगावाट, निजी क्षेत्रका आयोजनाबाट २ सय ५७ मेगावाट उत्पादन भइरहेको छ । प्राधिकरण तथा निजी क्षेत्रका आयोजनाबाट बिजुलीको उत्पादन बढेपनि यसले माग अनुसारको आपूर्ति गर्न सकेको छैन । जसका कारण भारतबाट आयात हुने बिजुली समेत बढाउनु परेको विद्युत प्राधिकरण बताउँछ ।

प्राधिकरणका अनुसार गत वर्षको यही समयमा भारतबाट ५ सय २४ मेगावाट बराबरको बिजुली आयात गरिएको थियो । यो वर्ष भने यस्तो बिजुली आयात बढेर ६ सय ९१ मेगावाट पुगेको छ । अर्थात् भारतबाट आयात गर्नुपर्ने बिजुली गत वर्षको तुलनामा ३१ प्रतिशतले बढि हो ।

यता जलाशययुक्त आयोजना कुलेखानीको पानीको सतह पनि गत वर्षको भन्दा कम छ । गत वर्ष १५ सय १६ मिटर माथि रहेको पानी यसपाली १५ सय १२ मा रहेको छ । यसले गत वर्षको भन्दा यसपाली बिजुली उत्पादनका लागि कुलेखानी पनि बढि चलेको प्रष्ट हुन्छ ।

स्वदेशमा बिजुलीको माग बढ्दै गएपनि पञ्चेश्वर जलविद्युत आयोजना, बुढिगण्डकी जस्ता जलाशययुक्त आयोजनामा भने सरकारले ध्यान पु¥याउन सकेको छैन । १२ सय मेगावाटको जलाशययुक्त आयोजना अहिलेसम्म निर्माण सम्पन्न गरेको भए मुलुकले भारतीय बिजुली आयात होइन कि यतिबेला ६ सय मेगावाट भन्दा बढि बिजुली त भारत निर्यात गरेको हुन्थ्यो ।

भारतीय बिजुली नेपालमा नआउने हो भने अहिले पनि मुलुक लोडसेडिङमै बस्नु पर्छ । आयातित बिजुलीले मुलुक उज्यालो हुँदा सरकार र यसका नेतृत्व तहका नेताहरु भाषणमा मात्रै सिमित छन् । मुलुकलाई आर्थिक समृद्धिमा लाने कुरा चुनाव आउनु अघि उनिहरुले सम्झिने पनि छैनन् होला ।

प्रतिक्रिया