आइतबार, जेठ ६, २०८१

संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च पुगे सभामुख

नेपालखोज २०७७ माघ २३ गते ११:५८

काठमाडौं । सरकारले संवैधानिक आयोगहरुमा गरेको नियुक्ति संविधान विपरित भएको भन्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।

शुक्रबार बिहान सभामुख सापकोटा सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पेस गरेका हुन् । सभामुख सापकोटाले पेस गरेको रिट निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् ।

साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले रिटमा माग गरेका छन् ।

यसैगरी नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ । उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने पनि सभामुख सापकोटाले रिटमा माग गरेका छन् ।

सभामुख सापकोटासँग प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका छन् । अहिले निवेदन पेस भइसकेको र दर्ताको प्रक्रियामा रहेको पनि सभामुखको सचिवालयले जानकारी दिएको छ ।

बुधबार विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई शीतलनिवास सपथ गराइएको थियो । उनीहरुलाई असंवैधानिक ढंगले ल्याएको अध्यादेशका भरमा अपुरो संवैधानिक परिषद्ले संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सपथ गराइएको थियो ।

प्रतिक्रिया