लोप हुँदै फापर, जुनेलो

नेपालखोज २०७७ माघ २३ गते १३:४२


काठमाडौं । परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जुनेलोलाई मुरली मकैजस्तै अन्न मानिन्छ । त्यस्तै तीन कुने वा तीन धारे परेको, कालो बोक्रा र सेतो गुदी हुने गेँडा हुने अन्नलाई फापर भनिन्छ । फापर रोटी वा खाद्यान्नमा प्रयोग गरिन्छ । खासगरी मधुमेह रोगी र वर्त लिएको मानिसले शुद्ध खानाको रुपमा प्रयोग गरिने फापर लोप हुँदै गएको छ ।

जुनेलो र फापर लोप हुनुका कारण पत्तालगाई कृषकलाई उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको छ । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार, रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा ब्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो हिजोआज खेती नै हुन छाडेपछि लोप हुँदै जान थालेका यस क्षेत्रका स्थानीय कृषक बताउँछन् ।

सात वर्षअघिसम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको रौता पाँबुका कृषक कृष्णबहादुर मगरले स्मरण गरे। उनी भन्छन् , “केही वर्ष अघिसम्म आफूले पाँबुमा सबैभन्दा धेरै जुनेलो उत्पादन गर्ने कृषकको रुपमा परिचित थिएँ, तर गाउँमा अरुले पनि विस्तारै यो खेती छाड्दै लगे, दुई वर्षयता आएर म पनि यो खेती अहिले पूर्णरुपमा छाडी दिएको छु ।” मगरका अनुसार जुनेलो र फापर लोप हुनुमा गाउँमा युवा पुस्ता नहुनु तथा पलायन भएर अन्यत्र जानु र कतिपय कृषकले परम्परागत खेती छाड्दै जानु हो ।

प्रतिक्रिया