भोलिदेखि मौसममा सुधार, आज पूर्व र मध्य क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव पश्चिमबाट पूर्वमा सरेकाले आज प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकामा दिउँसोपछि हल्का वर्षा हुने सम्भावना रहेको छ भने अन्य पहाडी भू-भागमा सामान्य बद्ली मात्रै हुनेछ ।
हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाडौंमा पानी परेको मौसमविद्ले बताएका छन् । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको छ ।
यस वर्षको हिउँदमा पानी ढिला गरी परेको त्यसमा पनि सामान्य किसिमको मात्रै परेको छ । भोलिदेखि मौसम सुधार हुने पनि महाशाखाले जनाएको छ । ढिलै भएपनि हिउँदे वर्षा र हिमपात भएपछि किसान खुसी भएका छन् ।

प्रतिक्रिया