बिहीबार, माघ ३, २०८१

सभामुख सापकोटाको मुद्दा न्यायाधीश ढुंगानाको एकल इजलासमा

नेपालखोज २०७७ माघ २५ गते ११:०७

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा तोकिएको छ ।

Advertisement

गत शुक्रबार संवैधानिक परिषदले गरेका नियुक्ति र शपथग्रहण असंवैधानिक भन्दै सभामुख सापकोटाले सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए ।

न्यायाधीश ढुंगानाको एकल इजलाशमा तोकिएको पेशी चौथो नम्बरमा छ ।

सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास वैरागीलगायत संवैधानिक निकायमा नियुक्त भई शपथ लिने ३२ जना गरी ३९ जनालाई विपक्षी बनाइएको हो ।

संसदीय सुनुवाई बिना नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुले गएको बुधबार शपथ लिएका थिए । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार उनीहरुले शपथ खाएका हुन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाई जारी रहेका बेला सिफारिस भएका व्यक्तिहरुको सुनुवाई हुन सकेन ।

संघीय संसदको कार्यसञ्चालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिस भएकाहरुको ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ । सोही अनुसार गएको बुधबार शपथ भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता समेत पठाएका थिए ।

प्रतिक्रिया