शनिबार, वैशाख २२, २०८१

काँकडभिट्टाबाट भारततर्फ आवतजावत सहज

नेपालखोज २०७७ माघ २५ गते ११:५९

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।

नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटी रिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौँ नेपाली भारतीय सीमावर्ती बजार पानीट्यांकी, नक्सलबाडी, सिलगुढीलगायतका क्षेत्रमा औषधि, लत्ताकपडा र खाद्यान्न खरिदका लागि जाने र नेपालतर्फ आउने क्रम बढेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले अझै पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सरकारले लागु गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गराएर मात्रै नाकाबाट आवतजावत भइरहेको बताए । उनले उपचारका लागि भारतका विभिन्न स्थानमा जाने वृद्धवृद्धा, अशक्तहरुलाई पालो मिलाएर सिटी रिक्सामा पठाउने गरिएको स्वीकार गरे । ‘‘मानवीय कारणले उपचारमा जानेलाई केही सहज बनाइएको छ,’’ उनले भने, ‘‘तर, अन्यको हकमा भने पुरानै अवस्था छ । खुकुलो बनाइएको छैन ।’’

उनले नेपालका अन्य सीमानाका खुलेपनि पूर्वी नाका खुलाउने बारेमा केन्द्रबाट कुनै निर्देशन नआएको बताए । भारतबाट आएका व्यक्तिले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट तथा तेस्रो मुलुकबाट आएकाले राहदानी देखाएर नेपाल प्रवेश गरिरहेको जानकारी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेदेखि भारतसँग जोडिएका सीमानाकाहरु बन्द गरेको थियो ।

प्रतिक्रिया