निर्मला हत्याकान्डमा जस्तो अपराधी जोगाउने काम नगर्न सरकारलाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको महिला विभागले भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा निर्मला पन्त हत्याकान्डमा जस्तो अपराधी जोगाउने काम नगर्न सरकारलाई चेतावनी दिएको छ ।विभागले आइतबार विज्ञप्ति जारी गरी विगतमा अपराधीको संरक्षण भएकै कारण अपराधीको मनोबल बढेको भन्दै भागरथी हत्या प्रकरणमा त्यस्तो हुन नदिन चेतावनी दिएको हो ।
“माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविकी छात्रा भागरथी भट्टको बलात्कार र हत्याको घटनाले सिंगो मुलुकलाई फेरि स्तब्ध बनाएको छ,” विभागकी सचिव लक्ष्मी खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस महिला विभाग यो घटनाको घोर निन्दा र भर्त्सना गर्दछ । उक्त घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय होस् भनी सरकारसमक्ष जोडदार माग गर्दै यो घटनाको अनुसन्धानमा कुनै लापरबाही नगरियोस् भन्ने महिला विभाग चेतावनी दिन चाहन्छ ।”
विज्ञप्तिमा महिलामाथि हुने गरेका अनवरत् हिंसाका शृखंलाले सिंगो राष्ट्र र समाज आतंकित भएको उल्लेख छ । “अढाई वर्षपहिले कञ्चनपुरमा विभत्स बलात्कार र हत्याको सिकार भएकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पनि कानुनी कठघरामा उभ्याउन सकेको छैन ।
यसैगरी, गत असोजमा मष्टा गाउपालिका बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार र हत्याको घटना पनि महिलामाथि हुने गरेका जघन्य अपराधको एउटा कडी हो,” विज्ञप्तिमा भनिएको छ, “यी अपराधलाई तोड्न महिलाविरुद्ध सिलसिलेवार रुपमा हुने गरेका हत्या र हिंसाका सिलसिलालाई तोडनुपर्ने हुन्छ । यसका निम्ति राजनीतिक पार्टी, विभिन्न संघ-संस्थाहरु, पेसाकर्मीहरुलगायत सिंगो समाज अपराधको खिलाफमा खडा रहनु आजको मूल आवश्यक्ता हो । यिनै प्रयासहरुले अपराधीको बढेको मनोबल घटाउन र दण्डहीनताको अन्त्य गर्ने वातावरण बनाउन सकिन्छ ।” कांग्रेस महिला विभागले भागरथीको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेको छ ।

प्रतिक्रिया