बुधबार, माघ २, २०८१

एन्टिजिन किट थप्न गरिएको टेन्डर आह्वान फिर्ता

नेपालखोज २०७७ माघ २५ गते १५:०४

काठमाडौं । कोभिड-१९ पहिचानका लागि प्रयोग हुने एन्टिजिन किट प्रयोगविहीन भएपछि स्वास्थ्य सेवा विभागले थप किट खरिदका लागि गरिएको टेन्डर आह्वान खारेज गरेको छ ।

Advertisement

पहिले अनुदानमा आएको एक लाख थान किट नै प्रयोगविहीन भएपछि थप किट नल्याउने निर्णय गरी टेन्डर खारेज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोभिड फोकल पर्सन महेन्द्र श्रेष्ठले बताए ।

एक लाख थान किटको माध्यमबाट सरकारले पुसभित्र तीन लाख नागरिकमा कोभिड-१९ परिक्षण गर्ने घोषणा गरेको थियो । तर कोभिड-१९ को संक्रमण दर ओरालो लाग्दै गर्दा भित्र्याइएको एन्टिजिन विधि पुस अन्तिमसम्म आइपुग्दा कुनै पनि जिल्लामा प्रभावकारी हुन सकेको थिएन ।

पछिल्लो समय कोभिड १९ परीक्षणका लागि एन्टिजिन किट प्रयोग नै नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले बताइन् । विभागले तीन लाख थान एन्टिजिन किट खरिदका लागि पुस १२ गते विज्ञापनमार्फत टेन्डर आह्वान गरेको थियो ।

एसियाली विकास बैंक र अन्य दातृ निकायको सहयोगमा सरकारले इमरर्जेन्सी रेस्पोन्स प्रोजेक्ट नामक अनुदान प्राप्त गरेको थियो । यही परियोजनाअन्तरगत रहेर तीन लाख थान किटका लागि ३० दिनको म्याद राखेर टेन्डर आह्वान गरिएको थियो । अहिलेलाई एन्टिजिन किट थप नगर्ने भएपछि परियोजना बापत आएको रकम कोभिड नियन्त्रणका अन्य शीर्षकमा खर्च गरिने श्रेष्ठले बताए ।

प्रतिक्रिया