शुक्रबार, वैशाख १४, २०८१

नेपालगन्जमा सञ्चालनमा ल्याइयो वायुयान संग्रहालय

नेपालखोज २०७८ माघ १ गते ११:२०

नेपालगञ्ज । नेपालगञ्जमा स्थापना गरिएको वायुयान संग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ ।एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान संग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको सञ्चालक संस्था बेद उप्रेती ट्रष्टका प्रमुख क्याप्टेन बेद उप्रेतीले जानकारी दिएका छन् । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा संग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित बेलासपुरमा बनाइएको उक्त संग्रहालय विशेषत विद्यार्थीका लागि अध्ययनस्थल बन्ने क्याप्टेन उप्रेतीको भनाइ छ ।नौ वर्षअघि धनगढीमा डेढ करोड रुपैयाँको लागतमा स्थापित कस्मिक एयरको पुरानो जहाजमा तयार गरिएको संग्रहालय नेपालगञ्ज ल्याएर तयारी अवस्थामा पुुर्याउन करिब ३० लाख रुपैयाँ थप लगानी भएको छ । ग्राउन्डेड अवस्थामा रहेको कस्मिक एयरको फोकर–१०० विमानलाई संग्रहालय बनाइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका– १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित संग्रहालय राखिएको छ ।उपमहानगरपालिकाको सहमतिमा वायुयान संग्रहालयका लागि करिब सात कट्ठा जग्गा प्रयोग गर्न दिइएको हो । स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताएका छन् ।

प्रतिक्रिया