म्यानमारका प्रमुख सहरमा कर्फ्यु
एजेन्सी । म्यानमार सेनाको जुन्ता सरकारले मुलुकका प्रमुख सहरमा मार्सल कानुनसहित सोमबार बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको छ । क्षेत्रीय प्रशासनिक निकायहरुका अनुसार मंगलबारदेखि ५ जनाभन्दा बढी भेला हुन पनि प्रतिबन्ध लगाइएको छ । म्यानमारको पुरानो राजधानी याङ्गुन, मण्डाले, श्वेबो, मोनिवा, फाजाउङ, लोइकाउ र म्याउङ्म्या सहरमा कर्फ्यु लगाइएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु र मार्सल कानुन लगाइएको म्यानमारको सैनिक सरकारअन्तर्गत रहेका स्थानीय प्रशासनले जनाएका छन् । सोमबार बिहान राजधानी नेपिदअमा हजारौंको संख्यामा सेनाको कुविरुद्ध आम नागरिक प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।
लगातार तेस्रो दिन भएका प्रदर्शनमा दसौं हजार सहभागी अन्तर्राष्ट्रिय सञ्चार माध्यमलले जनाएका छन् । त्यसैगरी सोमबार कामदारहरुले देशव्यापी हड्ताल गरेका छन् । उनीहरुले नेतृ सुचीलगायत नेसनल लिग फर डेमोक्रेसीका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । राज्यनियन्त्रित टेलिभिजनले प्रदर्शनकारीले सार्वजनिक सुरक्षा र कानुनी शासनविरुद्धका प्रदर्शन नरोके कडा कदम चाल्ने चेतावनी दिएको छ ।
एक हप्ताअघि सेनाले म्यानमारकी नेतृ आङ सान सुची, राष्ट्रपति विन मिन्टलगायतलाई गिरफ्तार गर्दै शासन सत्ता हातमा लिएको थियो । त्यसपछि सेनाको कदमविरुद्ध चर्किएको आन्दोलन देशव्यापी भएको छ । सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै ‘कु’ मार्फत शासनसत्ता आफ्नो हातमा लिएको हो । साथै उसले एक वर्षका लागि म्यानमारभर पनि संकटकाल लागू गरेको छ ।
‘कु’ मार्फत सत्ता हत्याएपछि पहिलो पटक सरकारनियन्त्रित टिभीमार्फत सम्बोधन गर्दै सेना प्रमुख मिन आङ ह्लाइङले आफ्नो कदमको बचाउ गरेका छन् । उनले नोभेम्बरमा भएको चुनाव ‘अन्यायपूर्ण’ भएको पनि बताएका छन् ।
प्रतिक्रिया