मेरो शरीरमा कोरोना खोपले काम गरिरहेको छ : डा. अनुप वास्तोला

म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत प्रमुख कन्सलटेन्ट डाक्टर अनुप बाँस्तोला हुँ। कोरोना महामारीको समयमा मैले धेरै पटक पिसिआर परीक्षण गरे। सधै कोरोना नेगेटिभ आयो।
सरकारले सुरु गरेको कोरोना खोप अभियानको पहिलो दिननै मैले खोप लगाए । आज खोप लगाएको १४ दिन भइसकेको छ । हामीले लगाइरहेको कोरोनाविरुद्धको भ्याक्सीन एकदमै सुरक्षित छ। सेरम इन्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नेपालले लगाइरहेको हो । यसको विश्वसनियतामा शंका गर्नुपर्ने ठाउँ नै छैन । नेपालमा अझै पनि मानिसमा यो खोपले केही असर गर्छकी भन्ने भ्रम छ। म सबैलाई यो भ्रम नपाल्न अनुरोध गर्छु । यसको पुष्टि गर्नका लागि मैले खोप लगाएपछिआरडिटी परीक्षण गरेको छु । जसमा मेरो शरीरमा ‘आइजिएम’ एन्टिबडी बलियो हिसाबले पोजेटिभ आयो । दोस्रो खोप लगाइसकेपछि ‘आइजिजि’ पनि बलियो हुने पक्का छ।
आइजिएम भनेको रोगप्रतिरोधात्मक क्षमता बन्ने पहिलो स्टेप हो । आइजिएम बनिसकेपछि आइजिजि बन्छ। यो बनिसकेपछि शरीरमा लामो सयमसम्म रोग प्रतिरोधात्मक क्षमता बनेको भन्ने हुन्छ ।
खोप लगाइसकेपछि हामी लामो समयसम्म सुरक्षित छौं छैनौ भन्ने कुराको निर्धारण आइजिजिले नै गर्ने हो। खोपपछि शरीरमा आइजिजि बन्यो भने हामी लामो समयसम्म सुरक्षित भयो भन्ने हो । त्यो त्यसको मात्राले निर्धारण गर्छ । यो हेर्न अन्य टेस्ट गर्नसकिन्छ।
मैले आरडिटी गरेर हेर्दा पोजेटिभ एन्टिबडी देखियो। यो भनेको मेरो शरीरमा रोग प्रतिरोधी शक्ति बन्ने पक्का छ भन्ने हो।
आइजिजि बनिसकेपछि विश्वव्यापी फैलिएकोकोरोना मात्र नभएर कोरोनाका केही अन्य भेरिएन्टसँग जोगिने पक्का छ। त्यसैले फेरी पनि म भन्न चाहन्छु कोरोना खोप लगाउन उत्साहित बनौ र खोप लगाउ। खोप लगाउँदा घाटा केही छैन। फाइदा मात्रै छ। म दोस्रो खोपको उत्साहजनक सहभागिताका लागि शुभकामना दिन चाहन्छु।

प्रतिक्रिया