‘सेटिङअनुसार नै आयोग र सर्वोच्चको निर्णय आयो भने देश ठूलो राजनीतिक भुमरीमा फस्ने’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनीतिक भुमरीमा फस्ने बताएका छन् ।
नेपालबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आएका पत्रकारहरूसँग मङ्गलबार काठमाडौंमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङअनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने देश ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिएका छन् । यद्यपि आफूहरू संविधानको अक्षर र भावनाअनुसार नै न्यायालयबाट निर्णय आउनेमा विश्वस्त रहेको उनले स्पष्ट पार्नुरे ।
प्रधानमन्त्री ओलीले संविधानभन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफूहरूले गम्भीर रूपमा विचार गर्नुपर्ने अवस्था सिर्जना हुने बताए । उनले असंवैधानिक र अलोकतान्त्रिक कदमअनुसारको चुनाव पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुने तर्क गरे ।
उनले भने, ‘यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भुमरीमा पर्छ । संवैधानिक र अलोकतान्त्रिक ढङ्गले संविधान मिचिइसकेपछि त्यसको मातहतमा आयोजना हुने चुनाव पनि असंवैधानिक र अवैधानिक नै हुन्छ । यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाइ छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढङ्गले सोच्छौँ । त्यो चुनावलाई हामीले सहज ढङ्गले लिन सक्ने स्थिति हुँदैन । नैतिक रूपले अनि राजनीतिक रूपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी चुनाव विरोधी होइनौँ र हुन सक्दैनौँ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक चुनावका बारेमा हामीले गम्भीर रूपमा विचार गर्नुपर्ने नै हुन्छ ।’
अध्यक्ष दाहालले प्रधानमन्त्री ओली आफैले प्रतिगमन गरेर आफै प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्चर्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधान विरोधी कदमविरुद्ध आफूहरू संघर्षमा लाग्नु स्वभाविक भएपनि सरकार पक्षले नै सभा गरेर तेस्रो जनआन्दोलन सुरु भयो भन्नु लोकतन्त्रविरुद्धको उपहास भएको बताए । नेता दाहालले प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग र प्रतिस्पर्धामा उत्रिएको दाबी गरेका छन् ।

प्रतिक्रिया