शुक्रबार, मंसिर २८, २०८१

अमेरिकाले चीन नीति बदल्न सक्ने,बाइडेन र सीबीच टेलिफोन वार्ता

नेपालखोज २०७७ माघ २९ गते १४:३२


एजेन्सी । कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच टेलिफोन वार्ता भएको छ । आर्थिक र समसामायिक विषय लगायतका कतिपय मुद्दालाई लिएर पछिल्लो समय तनाव बढेको बेला विश्वका दुई ठूला अर्थतन्त्रबीच भएका मुलुकका राष्ट्रप्रमुखबीच टेलिफोन वार्ता भएको हो।

वार्तामा आर्थिक र सैनिकसहित सहकार्य गर्न सकिने जलवायु परिवर्तन र आणविक प्रसार सम्बन्धी मुद्दामा छलफल भएको सीएनएनले जनाएको छ । साथै बाइडेनले ब्यापारिक असमानता, प्रविधि एवं मानवअधिकारका मुद्दा समेत उठाएको जनाइएको छ।

बाइडेनले चिनियाँ उइगुर मुस्लिम समुदायविरुद्ध भएको मानवअधिकार उल्लंघन एवं हङकङ आन्दोलनबारे पनि चासो राखेका थिए । ‘बाइडेनले ती मुद्दा अमेरिकी मूल्य मात्र नभएर वैश्विक भएको समेत धारणा राखे ह्वाइट हाउस अधिकारीले सीएनएनलाई भने।

दुई नेताबीचको वार्तापछि ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै बाइडेनले अमेरिकी नागरिकको सुरक्षा, समृद्धि, शान्ति र इन्डो–प्यासिफिक मुद्दाबारे पनि छलफल गरेको जनाएको छ । इन्डो९प्यासेफिक मुद्दालाई लिएर पनि अमेरिका र चीनबीच तनाव छ।

बाइडेन प्रशासनले पूर्व ट्रम्प प्रशासनले चीनसँगको ब्यापारिक असमानता र प्रशान्त महासागरसहित एसियाली मुलुकमा बढाएको सैन्य गतिविधिलाई लक्षित गर्दै लिएको नीतिको पुनःसमीक्षा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

अमेरिकाको इन्डो–प्यासेफिक रणनीतिलाई स्वीकार गर्न पनि बाइडेनले जिङपिङलाई आग्रह गरेको जनाइएको छ । तर, ट्रम्प प्रशासनले चिनियाँ ब्यापारमा लगाएको प्रतिबन्ध तत्काल यथावतै रहने पनि बाइडेनले सीलाई जानकारी दिएका छन् । बाइडेनले चीनसँगको ब्यापार युद्ध गम्भीर सोचविचार गरेरै कांग्रेसले पारित गरेको प्रसंग कोट्याउँदै यसबारे तत्काल कुनै निर्णय नहुने संकेत गरेका छन् । चीनसँग सम्बन्ध बढाउँदा अमेरिकाले अब बृहत् चीन नीतिलाई अख्तियार गर्ने समेत बाइडेनले सीलाई जानकारी दिएका छन् ।गत बुधबार बाइडेनले अमेरिकाको चीन रणनीति तय गर्न त्यहाँको रक्षा मन्त्रालयले एउटा कार्यदल गठन गरेको घोषणा गरेका थिए ।

चिनियाँ सरकारी संचारमाध्यमको ग्लोबल टाइम्सले पनि दुई विश्व नेताबीच टेलिफोन वार्ता भएको पुष्टि गरेको छ । टाइम्सको अनलाइन संस्करणले वार्ता भएको पुष्टि गरे पनि के–के छलफल भयो भन्नेबारे खुलाएको छैन ।सिन्ह्वाले चाहिं राष्ट्रपति सी जिङपिङले अमेरिका र चीनबीचको संवाद संयन्त्रलाई पुनर्स्थापित गर्न आग्रह गरेको लेखेको छ । सीले दुई देशबीचको गलत बुझाइ र गलत दृष्टिकोणलाई अन्त्य गर्नुपर्ने खाँचो औंल्याएको समेत सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया