संसदीय व्यवस्था अन्त्य गर्न विप्लवसहितका चार पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दल मिलेर रणनैतिक संयुक्त मोर्चा गठन गरेका छन् । मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तीकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल रहेका छन् ।
चार पार्टीले बिहीबार घोषणा गरेको रणनैतिक मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापन गर्ने लक्ष्य लिएको छ ।
मोर्चाले तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्नेसमेत घोषणा गरेको छ ।
रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रूप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन् । समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ ।
मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु तय समेत गरेको छ । जस अनुसार फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने र पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ ।


प्रतिक्रिया