६० जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

नेपालखोज २०७७ माघ २९ गते १५:४८

काठमाडौं । नेपाल सरकार गृह सचिवस्तरको २०७७ माघ २६ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षक तथा नेपाल सरकार गृह सचिवस्तरको २०७७ माघ २८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएकामध्ये ६० जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनिहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नोति भएका ४६ जनामध्ये ३८ जना र विभिन्न समूहको प्राविधिक प्रहरी नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नोति भएका २३ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु रहेका छन् । पदोन्नति भएका ८ जना प्रहरी नायव उपरीक्षकहरू र १ जना प्राविधिक प्रहरी निरीक्षक हाल यूएन मिसनमा कार्यरत रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदले अपेक्षा गरेअनुसारको व्यावसायिक भूमिका निर्वाह गर्न निर्देशन दिए । आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीलाई मनन गरी नियमित रूपमा भएको कार्यसम्पादनमा बढोत्तरी गर्दै संगठनको आज तथा छविलाई निरन्तरता दिन सम्पूर्ण प्रहरी कर्मचारीहरू सतत् रुपमा लागिपर्ने अपेक्षा संगठनले लिएको उनले चर्चा गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले थप उत्साहका साथ जिम्मेवारी वहन गर्दै उत्कृष्ट काम गर्ने लगायतका आफ्ना प्रतिवद्धताहरूलाई सबैले स्वीकारी काम गर्ने अपेक्षा आफूले लिएको उल्लेख गरे । प्रहरीको कार्य सम्पादनमा प्राविधिक प्रहरीहरूले मद्दती भूमिका निर्वाह गर्दै उच्चतम व्यावसायिकता प्रदर्शन गरी काम गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया