शुक्रबार, वैशाख १२, २०८२

चीनले लगायो बीबीसी टेलिभिजनको प्रसारणमा प्रतिबन्ध

नेपालखोज २०७७ माघ ३० गते १२:१९

बेइजिङ । चीनले झूटो र अनुचित सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

चिनियाँ राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई चीनमा प्रसारणमा रोक लगाइएको हो ।

बीबीसी वल्र्ड न्युजले आफ्नो रिपोर्टहरुमा कोरोना महामारी र शिवजियाङमा विगर मुसलमानहरुमाथि शोषणा भइरहेको भन्दै सामग्री प्रसारण गरेको थियो ।

बेलायतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा चीनमा इन्टरनेट र मिडियामाथि कडा प्रतिबन्ध लागू भएको बताएको छ । बेलायती विदेश मन्त्रालयले चीनको पछिल्लो निर्णयले विश्वसामु उसको छवि गिराउने प्रतिक्रिया दिएको छ ।

गएको हप्ता बेलायती सञ्चारमाध्यम नियामक निकाय अफकमले चीन सरकारको नियन्त्रणमा रहेको सीजीटीएन टेलिभिजनको प्रसारण लाइसेन्स निलम्बित गरेको थियो । त्यसैको प्रतिक्रियास्वरुप चीनले बीबीसीको वर्ल्ड सर्भिसमाथि प्रतिबन्ध लगाइएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया