सोमबार, मंसिर १७, २०८१

पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता भोलि

नेपालखोज २०७७ माघ ३० गते १२:४५

पोखरा । आउँदो फागुन १ गते शनिबार पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा यस बर्ष १ सय ५६ जना धावकहरू सहभागी हुने भएका छन् ।

पूर्वखेलाडी मञ्च नेपालको आयोजनामा शनिबार आयोजना हुने उक्त प्रतियोगितामा पुरुष धावकहरू मात्र १ सय ५६ जना सहभागी हुने भएको मञ्चले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।


यस बर्ष भने कोरोनाको कारणले गर्दा विदेशबाट धावकहरू उक्त प्रतियोगितामा सहभागिता जनाउने सम्भावना नभएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए । कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रबद्र्धन गर्न र सफल पोखरा म्याराथनलाई निरन्तरता दिन पनि यस वर्ष उक्त प्रतियोगितामा सके सम्मको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने भएको अध्यक्ष गुरुङले जनाए ।


४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, शान्त्तोना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणापत्र प्राप्त गर्ने भएको अध्यक्ष गुरुङले बताए । नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा संचालन हुने उक्त प्रतियोगिताले पोखराको खेलपर्यटनलाई समेत प्रबद्र्धन गर्ने भएको अध्यक्ष गुरुङले जनाए ।

उक्त प्रतियोगिता सफल पार्न करिब ३ सय सुरक्षाकर्मी एक सय ५० स्वयमसेवक परिचालन गरिने तथा करिब ३÷४ किलोमिटर दूरीमा एम्बुलेन्स सेवा तयारी अबस्थामा राखिने भएको उनले जनाए । उक्त दौड प्रतियोगिता शनिबार बिहान ७ः०० बजे पोखरा रंगशालाबाट सुरु भई छोरेपाटन, लेकसाइड, भिमकालिपाटन, इन्जिनीयरिङ कलेज मध्यमपथ हुदै बगर, नारायणथान पुल हुँदै सितलादेवि , मियापाटन, चाउथे, भोटेचौचारा मझेरीपाटन रामबजार हुँदै रंगशालासम्मको रुट तय गरिएको छ ।


महिला धावकहरूलाई समेत प्रोत्साहन हुने गरी यस वर्षदेखि हुन लागेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितामा बिहीबारसम्म १९ जना प्रतियोगीहरूले सहभागिता जनाउने गरी नाम दर्ता गरेको मञ्चले जनाएको छ । महिलातर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको भएको मञ्चका प्रमुख कार्यकारी अधिकृत केशव पाठकले बताए । उक्त प्रतियोगितामा धावकले पोखरा रंगशालाबाट दौड सुरु गरी पृथ्बीचोक, छोरेपाटन, पार्दी, लेकसाइड, न्युरोड, गैरापाटन, पालिखेचोक, नारायणथान मन्दिरचोक, नेपाल टेलिकल हुदै गिता मन्दिर हस्पिटलचोक, बुद्धचोक रंगशालासम्मको यात्रा पूरा गर्नुपर्ने हुन्छ ।


कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ । त्यसै १० किलोमिटर महिला तथा पुरुष तर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुष तर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको बार्षिकोत्सको अवसरमा ५ किलोमिटर बिद्यालय स्तरिय छात्र÷छात्रा दौड प्रतियोगिता र रन फन फनसमेत हुने भएको मञ्चका पूर्वअध्यक्ष खड्ग बहादुर रानाभाटले बताए ।


प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दूधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए । त्यसै गरी प्रतियोगितालाई सफल पार्न तीनै तहका सरकारले सहयोग गरेको गुरुङले जनाए । उनका अनुसार संघीय सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयबाट ५ लाख, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबाट उक्त प्रतियोगिताका लागि १०÷१० लाख रुपैयाँ विनियोजन भएको छ ।


२०५८ सालमा स्थापना भएको मञ्चले उक्त प्रतियोगिताबाट बचत भएको केही रकम सामाजिक क्षेत्रमा काम गर्ने योजना बनाएको मञ्चका कृष्ण तिमिल्सिनाले बताए । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले सफल पोखरा म्याराथनले पोखराको खेल पर्यटन प्रबद्र्धनमा मद्दत पु¥याउँदै आएको बताए ।

प्रतिक्रिया