मंगलबार, मंसिर २५, २०८१

सिभिल बैंकको नगदरहित अभियान सुरु

नेपालखोज २०७७ माघ ३० गते १५:२८

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुली माडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो ।

प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्युआर कोडमार्फत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरेका हुन् ।

सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीन पाङ्ग्रे सवारी) तथा ३४ वटा अन्य विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरिएको बैकले जानकारी दिएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी, कार्यकारी निर्देशक भूवन कडेँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिंग प्रमुख भोलाबहादूर विष्ट, बागमति प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिका मेयर खड्ग खत्री, उ.वा.संघ सिन्धुलीेका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, टेम्पू यातायात व्यवसायीहरुलगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसाथ गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए ।

साथै नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि उनले बताए । सिभिल बैंकका नायव प्रमुखकार्यकारी अधिकृत सुनीलकुमार पोखरेलले क्युआर कोड प्रविधिको प्रकृया तथा प्रभावकारीता बारेमा प्रस्ट्याएका थिए ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७१ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

प्रतिक्रिया